Dark Mode

      Subscribe

ट्रम्पको करसम्बन्धी निर्णयले युरोपियन सेयर बजारमा उच्च गिरावट

1.2K
SHARES
ट्रम्पको करसम्बन्धी निर्णयले युरोपियन सेयर बजारमा उच्च गिरावट

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनमा आबद्ध मुलुकहरुबाट आफ्नो मुलुकमा आयात हुने सामानहरुमा कर लगाउने घोषणा गरेसँगै युरोपियन शेयर बजारमा गिरावट देखिएको छ। ट्रम्पले विशेष गरेर युरोपबाट अमेरिका आयात हुने गाडीहरुमा भन्सार शुल्क बढाउने बताएपछि शेयर बजारमा ठूलो गिरावट देखिएको हो।

विशेष गरेर युरोपका कार निर्माताहरूको शेयर मूल्यमा ठूलो गिरावट आएको छ। योजनाबद्ध भन्सार शुल्कले सबैभन्दा बढी असर पार्ने उद्योगहरूमध्ये मोटर उद्योग पहिलो नम्बरमा देखिएको छ।विश्वचर्चित ब्रान्डहरु क्राइसलर, सिट्रोएन, फियाट, जीप तथा प्युगोजस्ता ब्रान्डको शेयर मूल्य करिब ६ प्रतिशतले घटेको छ। त्यस्तै, अन्य ठूला युरोपेली कार निर्माता कम्पनीहरूमध्ये भिडब्लुको सेयर ५.७ प्रतिशतले घट्दा मर्सिडिजको ४.४ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, बिएमडब्लुको शेयर ४ प्रतिशतले घट्न पुगेको छ।

त्यस्तै, पेयपदार्थ निर्माता डियाजियोको शेयर पनि ३ प्रतिशतले घटेको छ। यो कम्पनी मेक्सिकोबाट अमेरिका निर्यात हुने टकिला व्यवसायसँग जोडिएकाले भन्सार शुल्कको असर पर्ने देखिएसँगै शेयर मूल्यमा गिरावट आएको हो। सन् २०२३ मा करिब २० वटा युरोपेली संघ (इयू) का सदस्य राष्ट्रहरूले अमेरिकामा निर्यात गरेकोभन्दा कम आयात गरेका थिए। इयूको आधिकारिक तथ्यांक संस्था यूरोस्ट्याटका अनुसार सबैभन्दा धेरै व्यापार मुनाफा कमाउने देश जर्मनी रह्यो, जसलाई इटाली र आयरल्याण्डले पछ्याएका छन्।

यसबाट यदि इयूमाथि भन्सार शुल्क लगाइयो भने सबैभन्दा ठूलो असर जर्मनीलाई पर्न सक्नेछ। किनभने सन् २०२३ मा इयूको कुल ट्रान्सएटलान्टिक (अमेरिकासँगको) निर्यातमध्ये ३० प्रतिशतभन्दा बढी जर्मनीबाट भएको थियो। जर्मनीबाट अमेरिका निर्यात गरिने मुख्य सामानहरू कार र मेसिनरी थिए। ट्रम्पले पटक–पटक इयूबाट अमेरिका आउने कारहरूको आलोचना गर्दै आएका छन्, किनभने अमेरिकाबाट इयूतर्फ निर्यात हुने सवारीसाधनको सङ्ख्या अत्यन्तै न्यून रहेको छ।

ट्रम्पको विश्वास छ कि भन्सार शुल्क लगाउँदा अमेरिकी अर्थतन्त्रलाई फाइदा पुग्छ, रोजगारी जोगिन्छ र सरकारको राजस्व वृद्धि हुन्छ। यो उनको ‘अमेरिका फर्स्ट’ नीति अनुरूपको योजना हो। तर, धेरैजसो अर्थशास्त्रीहरूले भन्सार शुल्कहरूले दुवै पक्षका व्यवसायी र उपभोक्ताहरूलाई नोक्सान पुर्‍याउने चेतावनी दिँदै आएका छन्। इयूले जवाफी कदम चाल्ने सम्भावना भएकाले वस्तुहरू झन् महँगो बन्न सक्ने र उपभोक्ताहरुले महँगीको मार खेप्नु पर्ने उनीहरुको बुझाइ छ।

यसका साथै ट्रम्प प्रशासनले इयूलाई अमेरिकाबाट बढी तेल र ग्यास किन्न दबाब दिँदै आएको छ। इयूले रुसबाट ल्याइने जीवाश्म इन्धनमा निर्भरता घटाएपछि अमेरिका नै इयूलाई तरल प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति गर्ने सबैभन्दा ठूलो मुलुक बनेको छ। ट्रम्पको नयाँ भन्सार नीतिले सेयर बजार मात्र होइन, क्रिप्टो बजारमा पनि गिरावट देखिएको छ। डोनाल्ड ट्रम्पले सप्ताहन्तमा नयाँ भन्सार शुल्क घोषणा गरेपछि विश्वव्यापी शेयर बजार मात्र होइन, क्रिप्टो बजारमा पनि ठूलो गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।



nationalnews7 nationalnews7   
  • February 3, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP