Dark Mode

      Subscribe

फागुनसम्म नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

234
SHARES
फागुनसम्म नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४७.१३ प्रतिशत बराबर हो।

आर्थिक वर्षको सुरुआतमा, अर्थात् २०८२ साउन १ गते, कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेकोमा फागुन मसान्तसम्म आइपुग्दा २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँले वृद्धि भएको छ।

कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत र वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत रहेको छ। तथ्यांकअनुसार फागुन मसान्तसम्म आन्तरिक ऋण दायित्व १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने बाह्य ऋण १५ खर्ब ३० अर्ब १८ करोड १० लाख रुपैयाँ रहेको छ।

यस अवधिमा विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै बाह्य ऋणमा ९७ अर्ब ९८ करोड रुपैयाँ बराबरको विनिमय घाटा (दायित्व वृद्धि) भएको उल्लेख गरिएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि कुल ५ खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। तर फागुन मसान्तसम्म उक्त लक्ष्यको ५०.४४ प्रतिशत अर्थात् ३ खर्ब ४६ करोड ७२ लाख रुपैयाँ मात्रै ऋण प्राप्त भएको छ।

यस अवधिमा आन्तरिक ऋण संकलन लक्ष्यअनुसार भए पनि बाह्य ऋण प्राप्ति अपेक्षाकृत कम देखिएको छ। आन्तरिक ऋणतर्फ वार्षिक लक्ष्यको ६७.३१ प्रतिशत अर्थात् २ खर्ब ४३ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ प्राप्त भएको छ भने बाह्य ऋणतर्फ लक्ष्यको २४.३१ प्रतिशत अर्थात् ५६ अर्ब ८० करोड ३ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ।

सरकारले चालु आर्थिक वर्षमा ऋणको सेवा शुल्क (सावाँ तथा ब्याज भुक्तानी) का लागि ४ खर्ब ११ अर्ब १ करोड ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। फागुन मसान्तसम्म यसमध्ये ५८.९४ प्रतिशत अर्थात् २ खर्ब ४२ अर्ब २६ करोड ८६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।

प्रतिवेदनअनुसार यस अवधिमा १ खर्ब ९४ अर्ब १९ करोड ९६ लाख रुपैयाँ सावाँ भुक्तानी गरिएको छ भने ४८ अर्ब ६ करोड ९१ लाख रुपैयाँ ब्याज भुक्तानी गरिएको छ। आन्तरिक ऋणतर्फ सावाँ र ब्याज गरी २ खर्ब ४ अर्ब ८० करोड १६ लाख रुपैयाँ भुक्तानी गरिएको छ भने बाह्य ऋणतर्फ ३७ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ भुक्तानी भएको उल्लेख गरिएको छ।



nationalnews7 nationalnews7   
  • March 16, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP