Dark Mode

      Subscribe

विश्वकप फुटबलमा ४८ टाेलीबीच प्रतिस्पर्धा हुने, चर्चित स्टार रोनाल्डोले छैटौँ पटक खेल्दै

299
SHARES
विश्वकप फुटबलमा ४८ टाेलीबीच प्रतिस्पर्धा हुने, चर्चित स्टार रोनाल्डोले छैटौँ पटक खेल्दै

काठमाडौँ। विश्व फुटबलका चर्चित स्टार क्रिस्टियानो रोनाल्डोले छैटौँ पटक फिफा विश्वकप खेल्ने पक्का भएको छ । उमेरले ४१ वर्ष पुग्नुभएका रोनाल्डोलाई विश्वकप पोर्चुगल टोलीमा समावेश गरिएको छ ।

प्रशिक्षक रोबर्टो मार्टिनेजले फिफा विश्वकप–२०२६ का लागि लिजेन्ट रोनाल्डोलाई समावेश गर्दै पोर्चुगल टोलीको घोषणा गर्नुभएको हो । यससँगै रोनाल्डोले कीर्तिमानी छैटौँ पटक विश्वकप खेल्ने पक्का भएको छ ।

विश्व फुटबलमा अनेकौँ कीर्तिमान बनाउनुभएका रोनाल्डोलाई विश्वकप जितेर नयाँ कीर्तिमान रच्ने अवसर समेत छ । विश्व फुटबलका सबै खाले उपाधि चुम्नुभएका रोनाल्डोले अब विश्वकप मात्र जित्न बाँकी छ ।

रोनाल्डो यसअघिका पाँच विश्वकपमा गोल गर्ने खेलाडी समेत हुनुहुन्छ । पछिल्लो समय युरोपको ब्यवसायिक फुटबल छाडेर साउदी अरेबियाको अल नासर क्लबमा खेलिरहनुभएका रोनाल्डोका लागि यस विश्वकप नै अन्तिम हुने अपेक्षा गरिएको छ ।

प्रशिक्षक मार्टिनेजले टोली घोषणापछि रोनाल्डोबाट पोर्चुगलले धेरै पाएकोले अझै केही गर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘‘रोनाल्डो विश्व फुटबलको एक प्रतीक र हाम्रो कप्तान । उनी टोलीको अनुशासन, जिम्मेवारी र नेतृत्वको उत्कृष्ट उदाहरण हुन् ।’’

प्रशिक्षक मार्टिनेजले पोर्चुगलको अन्तिम टोलीका २६ सदस्य हुने भएपनि २७ जना खेलाडीको नाम सार्वजनिक गर्नुभएको छ । जसमा चार गोलरक्षक समावेश छन् ।

आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा पोर्चुगल समूह ‘के’ मा रहेको छ । यस समूहमा डिआर कंगो, उज्वेकिस्तान र कोलम्बिया रहेको छ ।

पोर्चुगलका लागि यो तुलनात्मक रुपमा सहज समूह हो । पोर्चुगलले नेपाली मितिअनुसार असार ३ गते डिआर कंगोसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । विश्वकपमा पहिलो पटक ४८ टोलीबिच प्रतिस्पर्धा हुँदैछ ।

विश्वकप पोर्चुगल टोली

गोलरक्षक : डिएगो कोस्टा, जोस सा, रुइ शिल्भा र रिकार्डव भेल्हो । रक्षक : डिएगो डालोट, माथेउस नुनेन, नेल्सन सेमेडो, ओआओ कान्सेलो, नुनो मेन्डेज गोल्कासो इनासियो, रेनाटो भेइगा, रुबेन डियाज र तोमस अराउजो ।

मिडफिल्डिर : रुबेन नेभेज, सामुएल कोस्टा, जोआओ नेभेस, भिटिन्हा, ब्रुनो फर्नान्डेज र बर्नानर्डो शिल्भा । स्ट्राइकर : क्रिस्टियानो रोनाल्डो, जोआओ फेलिक्स, फ्रान्सिस्को ट्रिनकाओ, फ्रान्सिस्को कोनसेइकाओ, पेड्रो नेटो, राफाएल लिआओ, गोन्कासो गुएडेस, गोनकालो र रामोस ।



nationalnews7 nationalnews7   
  • May 20, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP