Dark Mode

      Subscribe

प्रधानमन्त्री बालेनले रोस्ट्रममै सम्झिए मेयरको कार्यकाल, दिए साम्यवाद र समाजवादको परिभाषा

13
SHARES
प्रधानमन्त्री बालेनले रोस्ट्रममै सम्झिए मेयरको कार्यकाल, दिए साम्यवाद र समाजवादको परिभाषा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले साम्यवाद र समाजवादको परिभाषा दिएका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले आफू काठमाडौं महानगरपालिकाको मेयर हुँदाको क्षण सम्झाएका हुन् । “गरिब, विपन्नको विषयमा साम्यवाद, समाजवाद भनेको भाषणमा दिन एकदम सहज पनि हुन्छ, मजा पनि आउँछ । साँच्चिकै समाजवाद र साम्यावाद म काठमाडौं महानगरपालिकामा मेयर हुँदाखेरिको उदाहरण दिन चाहन्छु,” प्रधानमन्त्री बालेनले भने, “हामीले विपन्नलाई प्राइभेट स्कुलमा १० प्रतिशत स्कलरसिप दिनुपर्छ, त्यसलाई इक्जाम दिएरै एकदमै मजाले लागु गरेका थियौँ । त्यहाँचाहिँ विपन्नले एकदमै महँगा कलेजहरूमा पढ्न पाएका थिए । साँच्चिकै समाजवाद भनेको त्यो हो ।”

उनले विभिन्न महँगा अस्पतालहरूमा ऐन, कानुन, संविधानबमोजिम १० प्रतिशत बेड विपन्नलाई दिने व्यवस्था भएअनुसार आफूले मेयरको कार्यकालमा काम गरेको बताए ।“त्यसको लागि हामीले वेबसाइट नै बनाएर प्राइभेट अस्पतालमा सर्जरीसम्मको व्यवस्था गरेका थियौँ । समाजवाद, साम्यवाद भनेको त्यस्तो कुरालाई भनिन्छ । यही १० प्रतिशत विपन्नलाई दिनुपर्ने कुराहरू हामीले देशैभरि लागु गर्न खोज्दै छौँ । यसको लागि विभिन्न जिल्ला र स्थानीय तहहरूमा सहकार्य गर्दै जाने छौँ,” उनले भने, “संविधानमा लेख्न त लेखियो शिक्षा, स्वास्थ्य फ्री, तर सरकारको बजेट त्यो छ कि छैन् भन्ने कुरा सोचिएन । त्यही भएर अहिले सबैलाई नभई विपन्नवर्गलाई कम्तीमा फ्री शिक्षा र स्वास्थ्य दिनलाई नेपाल सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी त्यसमा लागेको छ ।”

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सोधेको सुकुम्वासी व्यवस्थापनको प्रश्नमा प्रधानमन्त्री बालेनले भने, “हामीले काठमाडौं उपत्यकामा रहेका खोला किनारामा जोखिमपूर्ण अवस्थामा बस्नुभएको थियो, उहाँहरूलाई अर्को ठाउँमा सार्ने काम गरेका हौँ ।”प्रधानमन्त्री बालेनले अगाडि थपे, “हामीले उहाँहरूलाई हेर्दा खेदाएको जस्तो देखिए पनि चार वर्षअगाडि म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई भनेको कुरा के हो भने उहाँहरूलाई त्यहाँबाट स्थानान्तरण गरेर होल्डिङ सेन्टरमा राखेर जो सही सुकुम्वासी हुनुहुन्छ, जसको देशैभरि एक धुर, एक आना पनि जग्गा छैन, त्यो जग्गाको व्यवस्थापन नेपाल सरकारले गर्नुपर्छ । त्यो हाम्रो सरकार र हाम्रो पार्टीको मान्यता हो । पाउनैपर्छ ।”काठमाडांै उपत्यकामा रहेका सुकुम्वासीलाई डुबान, नाजुक स्वास्थ्य अवस्थाबाट मुक्ति दिलाउन सरकारले कदम चालेको उनले जिकिर गरे ।

“उहाँहरूको स्यानिटरी अवस्था, वासरुम र ट्वाइलेटको अवस्था, त्यसको निकासा सिधै खोलामा थियो । उहाँहरूबाटै निस्केको फोहोरको दुर्गन्धले उहाँहरू नै बिरामी पर्नुभएको थियो । त्यसले गर्दा उहाँहरू बिरामी पनि परिराख्नुभएको थियो र खोला फोहोर पनि भइरहेको थियो,” उनले भने, “सबैभन्दा ठूलो कुरा उहाँहरूको ज्यान जोखिममा थियो । उहाँहरूको ज्यान जोखिममा पर्नबाट जोगाएको हो राष्ट्रिय स्वतन्त्र पार्टीले । उहाँहरूलाई जग्गा व्यवस्थापन गर्ने कुरा छ, त्यसबारे भूमिसम्बन्धी समिति बनिसकेको छ । तीनवटा मन्त्रालयले काम गरिरहेको छ । अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षमा गर्छौं भन्नुभएको छ । जति समय लाग्छ, लाग्छ । ३५ वर्षमा नभएको चिज ३५ मिनेटमा नखोजाँैँ ।”



nationalnews7 nationalnews7   
  • May 31, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP