Dark Mode

      Subscribe

‘अपरिचित तथा अनधिकृत नम्बरबाट आउने फिशिङ लिंकयुक्त एसएमएस र सन्देशप्रति सचेत रहौं’

78
SHARES
‘अपरिचित तथा अनधिकृत नम्बरबाट आउने फिशिङ लिंकयुक्त एसएमएस र सन्देशप्रति सचेत रहौं’

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने फिशिङ लिंकयुक्त एसएमएस र सन्देशप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । पछिल्ला दिनहरूमा मोबाइल नेटवर्क तथा विभिन्न ओटीटी एपमार्फत व्यक्तिगत मोबाइल नम्बरमा निर्देशनसहितका शंकास्पद सन्देश आउने क्रम बढेपछि प्राधिकरणले अत्यावश्यक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।प्राधिकरणका अनुसार मोबाइल सेवा प्रदायकहरूको नेटवर्क पूर्वाधार तथा ह्वाट्सएपजस्ता ओटीटी एप प्रयोग गरी सर्वसाधारणका मोबाइल नम्बरमा फिशिङ लिंक समावेश गरिएका सन्देशहरू पठाइँदै छन् ।

यस्ता सन्देशका कारण उपभोक्तामा भ्रम र अन्योलता सिर्जना भएको भन्दै प्राधिकरणमा गुनासोहरू समेत प्राप्त भएका छन् ।प्राधिकरणले फिशिङ लिंकहरू वास्तविक वेबसाइट वा सेवाजस्तै देखिने भएकाले धेरै प्रयोगकर्ता झुक्किने जोखिम रहेको जनाएको छ । यस्ता लिंकमा क्लिक गर्दा व्यक्तिगत विवरणमा अनधिकृत पहुँच, वित्तीय ठगी, साइबर अपराध तथा अन्य आपराधिक गतिविधिको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ ।

सूचनामा सर्वसाधारणलाई अपरिचित स्रोतबाट प्राप्त हुने शंकास्पद लिंकहरू नखोल्न, क्लिक नगर्न तथा त्यस्ता सन्देशप्रति विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । प्राधिकरणले डिजिटल माध्यममार्फत हुने साइबर ठगीका प्रयास बढ्दै गएकाले सचेतना नै सबैभन्दा प्रभावकारी सुरक्षा उपाय भएको उल्लेख गरेको छ ।

साथै, शंकास्पद सन्देश प्राप्त भएमा सम्बन्धित निकायलाई जानकारी गराउन तथा व्यक्तिगत तथा बैंकिङ विवरण कुनै पनि अवस्थामा अपरिचित लिंक वा प्लेटफर्ममा प्रविष्ट नगर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।



nationalnews7 nationalnews7   
  • June 16, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP