Dark Mode

      Subscribe

साउनमा उत्साहजनक वैदेशिक व्यापार, ६१ प्रतिशतले बढ्यो निर्यात

13
SHARES
साउनमा उत्साहजनक वैदेशिक व्यापार, ६१ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेर २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार साउनमा आयात ३१.०४ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको साउनमा १ खर्ब ४३ अर्ब ४ करोड ६६ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका थिए।

यस अवधिमा निर्यातमा भने अझ ठूलो वृद्धि देखिएको छ। गत वर्ष साउनमा करिब २४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात ६१.७२ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड ४१ लाख रुपैयाँ पुगेको छ। निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको आकार ठूलो रहेकाले व्यापार घाटा भने बढेको छ। साउनमा व्यापार घाटा २४.८८ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। वैदेशिक व्यापारको संरचनामा समेत केही सुधार देखिएको छ। कुल व्यापारमा निर्यातको हिस्सा गत वर्षको साउनमा १४.३३ प्रतिशत रहेकोमा यस वर्ष बढेर १७.११ प्रतिशत पुगेको छ।

त्यस्तै, कुल व्यापारमा आयातको हिस्सा ८५.६७ प्रतिशतबाट घटेर ८२.८९ प्रतिशतमा झरेको छ। आयातको तुलनामा निर्यातको हिस्सा बढ्दै जानुलाई नेपालको वैदेशिक व्यापारका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। आयात र निर्यातबीचको अनुपातसमेत गत वर्षको ५.९८ बाट घटेर यस वर्ष ४.८४ मा झरेको छ। निर्यातको वृद्धिदर आयातको तुलनामा उच्च रहेकाले व्यापार संरचनामा क्रमिक सुधारको संकेत देखिएको हो। यद्यपि, व्यापार घाटाको आकार अझै ठूलो रहेकाले आयातमा निर्भरता घटाउँदै निर्यात बढाउने चुनौती भने कायमै रहेको छ।



nationalnews7 nationalnews7   
  • August 24, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP