Dark Mode

      Subscribe

भोजपुरको भुल्केमा भट्टराई कुलपूजाको अन्तिम तयारी, कुलपूजा स्थल बनाउन गाउँपालिकाको पनि सहयोग

39
SHARES
भोजपुरको भुल्केमा भट्टराई कुलपूजाको अन्तिम तयारी, कुलपूजा स्थल बनाउन गाउँपालिकाको पनि सहयोग

भुल्के (केशव भट्टराई भोजपुरे) । भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका वडा नं ३ स्थित भुल्केमा भट्टराई बन्धुहरुले यही मंसिर १८ गते बिहीबार भव्यरुपमा कुलपूजा (देवाली) गर्दैछन् । प्रत्येक तीन÷तीन वर्षमा गरिने कूलपूजा (देवाली) का अवसरमा भट्टराई बन्धुहरु भेला भएर आपसी भेटघाट, वंश परिचय, छलफल, कुलदर्शन, बलिपूजा लगायत क्रियाकलापमा सहभागी हुनेछन् । कुलको विँडो थाम्न र परम्परालाई जोगाइ राख्न उत्सुकतापूर्वक भट्टराई परिवारका सदस्यहरु, नातागोता, इस्टमित्र कुलपूजामा सहभागी हुने गरेका छन् । मंसिर १८ गते बिहीबार कुलपूजाको मूख्य दिन भुल्केस्थित देवाली थानमा हजारौं भट्टराई बन्धु तथा आफन्तजन उपस्थित हुने ‘भुल्के भट्टराई कुलवंश प्रतिष्ठान–२०५१’ का अध्यक्ष खगेश्र भट्टराईले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमलाई जानकारी दिनु भयो ।

‘भुल्के भट्टराई कुलवंश प्रतिष्ठानको अगुवाईमा यही मंसिर ९ गते मंगलबार पञ्चमी तिथिका दिन मूल घरमा कुलको दियो बाल्दै कुल देवताको आराधना आरम्भ भयो । मंसिर ११ गते सप्तमी तिथिका दिन गोठपूजा सम्पन्न गरियो । मंसिर १८ गतेको देवली गरिनुभन्दा अगाडिका दिनहरुमा दिनहुँ भट्टराई बन्धुका विभिन्न घरहरुमा कुलको दियो बालेर धामी बस्ने र जोखना हेर्नेलगायतका काम हुनेछन् । यसैगरी १६ गते दिउँसो मण्डप पार्ने र १७ गते दिउँसो र रातभरि भट्टराई बन्धुहरुको घरघरमा पुगेर बोका पर्सिने काम हुनेछ । १८ गते बिहीबार बैदिक विधिअनुसार होमहोमादी र बलिपूजा गर्दै प्रसाद वितरणको काम हुने ’भूल्के भट्टराई कुलवंश प्रतिष्ठान‘का उपाध्यक्ष टेकराज भट्टराईले जानकारी दिनु भयो । भुल्केस्थित देवालीमा विभिन्न विभिन्न ठाउँबाट आउने अतिथिहरुका लागि बस्ने व्यवस्था, शौचालय, पिउने पानीलगायत आवश्यक सुविधाहरुको व्यवस्था गरिएको छ ।

कुल पूजाका लागि ब्रम्हाण राखेर पुलस्चरणसाथै चण्डीपाठ पाठलगायत धामिर्क क्रियाकलाप हुनेछ । १८ गते बिहीबार महाबली विहानैदेखि सुरु हुनेछ । बोका बली दिनका लागि रसिद काट्ने काम पनि विहान सबैरेै सुरु हुनेछ । १८ गतेका दिन कुलपूजास्थल परिसरमा होमहोमादी गरिने छ । सोही दिन विहानै धामीको साथमा मूल दियोलाई मण्डप वरिपरि घुमाएर देउरालीमा पूजा हुनेछ । देउराली पूजा सकेपछि यज्ञादीमा पूजा हुनेछ । यस्तै भित्री मण्डपमा कुल दियो बालेर विधिवत् पूजा हुनेछ । तीनवर्षे कुलपूजा देवाली सफलतापूर्वक सम्पन्न गर्नका लागि सबै दाजुभाइहरुको ऐक्बद्धता हुने विश्वास लिइएको उपाध्यक्ष भट्टराईले जनाउनु भयो । कुलपूजा देवलीमा शक्तिरुपी पूजा एवम् बलीका बखत कुलका धामीहरुको विशेष भूमिका हुनेछ ।

यस अवसरमा २० हजारबढी मानिसको जमघट हुने अपेक्षा गरिएको छ । गोठधूप पूजाको दिनदेखि देवालीको दिनसम्म नै कुल दर्शन तथा जोखना हेराउने काम हुनेछ । यस्तै १८ गते देवलीका दिन पुलस्चरणको पूर्णाहुती, बोका बली दिनका लागि नाम दर्ता, तिलकपाती एवम् प्रसाद वितरण लगायतको काम हुनेछ । भट्टराईको कुलपूजामा बोको चढाइए चिताएको पुरा हुने विश्वासले भाकल गर्नेहरुको संख्या हरेक कुल पूजामा बढ्ने गरेको छ । भुल्केको कूलपूजामा चोखोनितो गरेर पालिएको निखर कालो र सेतो रंगको बोकाको बली दिइन्छ । बली नदिनेहरुले नरिबल, फूलपाती, अक्षता, धूप, घण्टी, चमर, दियो कलश,त्रिशूल, भेटीलगायत पूजा सामग्री चढाउने गर्दछन् । ठूलो क्षेत्रमा फैलिएको देवाली थान परिसरमा एउटा ठूलो प्रवेश गेट, रेलिङसहितको सिंढी निर्माण गरिएको छ । यसैगरी देवाली थान पसिरमा कुल मन्दिर, बलिपूजा स्थल निर्माण गरिएको छ । कुलपुजाका अवसरमा चढाइने भेटी तथा दाताहरुको सहयोगबाट संकलित रकमले विभिन्न संरचनागत कामहरु, सामाजिक क्रियाकलाप, कुलपूजास्थलको व्यवस्थापनलगायतका कामहरु हुँदै आएका छन् ।

यसैक्रममा देवाली थानलाई व्यवस्थित बनाउनका लागि एक वर्षको अवधिमा २० लाख रुपियाँको भौतिक संरचना निर्माणको काम सम्पन्न भएको छ । रामप्रसादराई गाउँपालिका कार्यालयको नेपाल जलवायु नमुना कार्यक्रम अन्तर्गत यस ठाउँलाई व्यवस्थित गर्न १० लाख रुपियाँ विनियोजन गरिएको थियो । यस्तै भुल्के भट्टराई कुलवंश प्रतिष्ठान–२०५१ को आन्तरिक कोषबाट १० लाख रुपियाँ संरचनागत कार्य एवम् उचित व्यवस्थापनका लागि खर्च गरिएको उपाध्यक्ष भट्टराईले जानकारी दिनु भयो । यसका अतिरिक्त देवाली थानलाई व्यवस्थित गर्नका लागि विगतका वर्षहरुमा पनि कामहरु हुँदै आएका छन् । यसलाई अझ व्यवस्थित गर्न वर्तमान कार्यसमिति कम्मर कसेर लागेको बुझिएको छ ।

उता मोरङको गोठगाउँमा भने मंसिर १७ गते बुधबार देवाली हुनेछ । देवालीको भोलिपल्ट १८ गते बिहीबार कुलपूजा आयोजक भट्टराई कुल विकास प्रतिष्ठान गोठगाउँको साधारणसभा, प्रसाद वितरण, कुलपूजाको आयव्यय प्रस्तुतीलगायतका कार्यक्रम राखिएको छ । नेपालका विभिन्न जिल्लामा बसोबास गरिरहेका भट्टराई बन्धुहरुले आ–आफ्नो परम्पराअनुसार कुलपूजा देवाली गर्ने गरेका छन् । कुनै ठाउँमा बसोबास गर्ने भट्टराई बन्धुहरुले पूजाआजा गर्दै बली दिएर देवाली गर्ने गर्दछन् ।

केही ठाउँमा बने बली नदिइकन पूजाआजा मात्रै गर्ने परम्परा छ । भोजपुरको भुल्केमा सबैजसो भट्टराई बन्धुहरुले बलि दिए कूलपूजा गर्ने गरेका छन् । नेपालमा भट्टराईका साथै अन्य जातजातिले पनि आआफ्नो परम्पराले कुलपूजा गर्दछन् । भुल्केमा भट्टराई बन्धुहरुले हरेक तीन÷तीन वर्षमा गर्ने कुलपुजा देवालीमा अन्य जातजातिका मानिसहरुको पनि सहभागिता हुने भएकाले यसलाई बन्धुत्व, सामाजिक एकता र सद्भावको पर्वका रुपमा लिने गरिएको छ । कुलपुजा गरिए पारिवारिक सुख, शान्ति, दीर्घायु, संकटबाट मुक्ति, शक्ति प्राप्तीलगायत हुने विश्वास गरिन्छ ।

 

 



nationalnews7 nationalnews7   
  • December 2, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP