Dark Mode

      Subscribe

केबुलकार विवाद सम्बन्धमा सांसदमा आवाज चर्कियो, निर्माण रोक्न तथा समाधान खोज्न माग

871
SHARES
केबुलकार विवाद सम्बन्धमा सांसदमा आवाज चर्कियो, निर्माण रोक्न तथा समाधान खोज्न माग

काठमाण्डाै । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले केबुलकार निर्माणको विषयलाई लिएर भइरहेको अशान्तिको बारेमा सरकारको ध्यानकर्षण गराएका हुन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यापारिक स्वार्थका लागि भाइ–भाइ जुधाउने काम भइरहेको आरोप लगाउँदै त्यसो नगर्न सरकारलाई आग्रह गर्नुभयो । वार्तामार्फत समस्या समाधान गर्न उहाँको आग्रह छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाथीभरामा केबुलकार निर्माण कार्य रोक्न माग गरेको छ । आकस्मिक समयमा बोल्दै रास्वपाकी सांसद तोसिमा कार्कीले पार्टीकै तर्फबाट यस्तो माग राख्नुभएको हो ।नेकपा एमालेका सचिव योगेश भट्टराईले पनि केबुलकार निर्माणको विषयलाई लिएर भएको विवादको समाधान खोज्नुपर्ने बताउनुभएको छ । केबुलकार बनाउनु उचित हो वा होइन भनेर एउटा बहसको विषय हुन सक्ने तर ऐनअनुसार पाथीभरामा केबुलकार बनाउन निजी क्षेत्रलाई अनुमति दिइएको पनि भुल्न नहुने उहाँको भनाइ छ ।

यसैबीच नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले ताप्लेजुङको पाथीभरा क्षेत्रमा भइरहेको केबलकार विवाद समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्न माग गरेको छ । कोशी प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङले विज्ञप्ति निकालेर यस्तो माग गर्नुभएको हो ।विज्ञप्तिमा सरकारले वार्ता र संवाद्बाट समाधान खोज्नुको साटो बल प्रयोग गरी आन्दोलनकारीलाई दबाउने प्रयास गरेको उल्लेख छ ।

पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । हिजो बेलुका पनि फुङ्लिङमा बजारमा नो केबलकार पक्ष र प्रहरीबीच झडप भएको थियो ।

 



nationalnews7 nationalnews7   
  • February 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP