Dark Mode

      Subscribe

अर्थसमितिमा बाफियामाथि छलफल

572
SHARES
अर्थसमितिमा बाफियामाथि छलफल

काठमाडौ‌ । बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैङ्क एन्ड फाइनान्सियल इन्स्टिच्युसन एक्ट-बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा छलफल भएको छ । समितिले आज यहाँ उक्त विधेयकका व्यवस्थामाथि बैङ्किङ क्षेत्रका विज्ञसँग छलफल गरेको हो ।

छलफलका क्रममा पूर्वबैङ्कर परशुराम कुँवर क्षेत्रीले बैङ्क तथा वित्तीय संस्थाको सञ्चालकसम्बन्धी व्यवस्था, बैङ्कर तथा व्यवसायी छुट्याउने प्रावधान, बैङ्कका सञ्चालकको उमेरहदलगायत विषयलाई विधेयकले उपयुक्त ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताए ।

यस्तै, बैङ्क तथा वित्तीय संस्थाहरूको गैरबैङ्किङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन (एसेट म्यानेजमेन्ट) कम्पनी खोल्नेसम्बन्धी प्रावधान बाफियामा राखिनुपर्ने सुझाव दिँदै उनले बैङ्क, वित्तीय संस्थाहरूले धितो लिलाम गरेको जग्गामा हदबन्दी लाग्न नहुने नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बैङ्कर र व्यवसायी छुट्याउने गरी विधेयकमा परेका व्यवस्थाबारे विभिन्न देशका असल अभ्यास र नेपालको सन्दर्भमा त्यसको सान्दर्भिकता खोज्नेगरी उचित प्रबन्ध गरिनुपर्ने बताए ।

उक्त ऐनलाई संशोधन गर्न बनेको विधेयक विसं २०८० चैतमा संसद्मा दर्ता भएको थियो । डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैङ्किङलाई कानुनी मान्यता दिने, बैङ्क सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफैँ शेयर धनी रहेका बैङ्कबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्नेलगायत महत्वपूर्ण व्यवस्था विधेयकमा राखिएका छन् ।

यस्तै, राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिमसमेतका आधारमा बैङ्क तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमनका लागि कानुनी प्रबन्ध गर्न पनि यो विधेयकले महत्वपूर्ण भूमिका खेल्ने ठानिएको छ ।

अर्थ समिति सभापति सन्तोष चालिसेले यो विधयेक बैङ्क तथा वित्तीय संस्थाहरूको नियमन र सुपरीवेक्षणसँग मात्र जोडिएको नभई मुलुकको समग्र अर्थतन्त्रसँग समेत जोडिएको बताए । विधेयकमाथि प्रतिनिधिसभाका २२ जना सांसदबाट विभिन्न एक सय २७ वटा संशोधन परेको पनि सभापति चालिसेले जानकारी दिए ।

प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र विद्यमान कानुनमा उल्लिखित तीनै तहका सरकारको वित्तीय अधिकार क्षेत्र व्यवस्थित गर्नका लागि पनि नयाँ बन्ने बाफिया महत्वपूर्ण छ । यसैगरी, नेपालको समग्र बैङ्किङ तथा वित्तीय प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायित्व कायम गर्न र बैङ्क तथा वित्तीय संस्थाहरूको संस्थापना, सञ्चालन, व्यवस्थापन, नियमनलगायत कार्यलाई व्यवस्थित गर्नका लागि पनि विद्यमान ऐन संशोधन गर्न लागिएको जनाइएको छ ।

यसैगरी, डिजिटल बैङ्कलाई बैङ्किङ तथा वित्तीय कारोबारको अधिकार दिनका लागि विधेयकमा नयाँ व्यवस्था राखिएको छ । डिजिटल बैङ्कलाई बैङ्कको परिभाषाभित्र समेटिएको छभने विद्युतीय माध्यमबाट जम्मा गरेको रकमलाई निक्षेप मान्न सकिने व्यवस्था गर्न लागिएको छ ।

बैङ्क तथा वित्तीय संस्थामा ‘कार्यकारी अध्यक्ष’ को परिभाषा हटाएर अध्यक्षको प्रावधान मात्रै राखिएको छ । यसैगरी, ‘उल्लेख्य सामित्व’ को परिभाषा पनि परिवर्तन गर्ने प्रस्ताव गरिएको छ ।



nationalnews7 nationalnews7   
  • May 4, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP