Dark Mode

      Subscribe

भूमि विधेयकका संशोधित दफा अध्ययन गर्न सांसदलाई दुई दिनको समय

962
SHARES
भूमि विधेयकका संशोधित दफा अध्ययन गर्न सांसदलाई दुई दिनको समय

काठमाडौं । भूमि विधेयकका केही दफा स्पष्ट नभएका भन्दै सांसदलाई थप अध्ययनका लागि दुई दिनको समय दिइएको छ ।

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकले केही बुँदा स्पष्ट नभएको भन्दै सांसदले अध्ययनको समय माग गरेपछि यस विषयमा साउन २७ गते छलफल गर्ने गरी तय भएको सभापति कुसुमदेवी थापाले बताए ।

यसअघिको बैठकमा दफा १२ (छ) को स्थानमा अर्को व्यवस्था गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई जिम्मेवारी दिएकामा आज बिहानमात्र संशोधित बुँदा समितिमा प्राप्त भएको थियो । समितिको बैठक बस्नु केही समयअघि मात्र प्राप्त भएको संशोधित बुँदा प्रष्ट नभएको भन्दै समय माग गरिएको जनाइएको छ ।

हतारमा दफामा गरिएको संशोधनसम्बन्धी व्यवस्था पारित गर्दा निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ मा जस्तै हुनसक्ने भएकाले नयाँ व्यवस्थाबारे मिहीन अध्ययन गरेर मात्र अघि बढ्नुपर्ने सहमति भएको थियो ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आरक्षबाट विस्थापित भएकालाई जग्गा दिने गरी कानुन बनाउनुपर्ने बताए । उनले जग्गा आरक्ष वा राष्ट्रिय निकुञ्जमा परेका तर हालसम्म केही नपाएका पीडितलाई जग्गा व्यवस्थापन गर्ने विधेयकमा व्यवस्था गरिएको जानकारी गराए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षबाट विस्थापित भएका धेरै परिवारले जग्गा नपाएको गुनासो मन्त्रालयमा आएकाले त्यस विषयलाई विधेयकले सम्बोधन गर्ने मन्त्री अधिकारीको भनाइ थियो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सयौँ व्यक्ति विस्थापित भएका र उनीहरुले हालसम्म जग्गा प्राप्त गर्न नसकेको गुनासो गरेकाले विधेयकमार्फत त्यसलाई सम्बोधन गर्ने गरी व्यवस्था गरिनुपर्ने बताए ।

समिति सभापति थापाले आरक्ष र राष्ट्रिय निकुञ्ज पीडितका विषयमा पटकपटक छलफल भएकाले यो समस्या समाधान हुने गरी विधेयकले व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।



nationalnews7 nationalnews7   
  • August 10, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP