Dark Mode

      Subscribe

दशैंपछि आएको बाढीले निर्जीवन बीमा कम्पनीहरूमा तीन अर्ब ७८ करोड रूपैयाँको दाबी

117
SHARES
दशैंपछि आएको बाढीले निर्जीवन बीमा कम्पनीहरूमा तीन अर्ब ७८ करोड रूपैयाँको दाबी

काठमाडौं । दशैं सकिनासाथ आएको अविरल वर्षा र बाढी–पहिरोले निर्जीवन बीमा कम्पनीहरूमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार रूपैयाँ बराबरको बीमा दाबी पुगेको छ। नेपाल बीमा प्राधिकरणले कात्तिक १२ गतेसम्म संकलन गरेको तथ्यांकअनुसार कुल ७३४ वटा दाबी दर्ता भएका छन्।

असोज १७ देखि २० गतेसम्मको लगातार वर्षा र बाढी–पहिरोका कारण देशका विभिन्न स्थानमा ठूलो भौतिक तथा मानवीय क्षति भएको थियो। ती मध्ये बीमाको दायराभित्र पर्ने सम्पत्तिबाट दाबीहरू दर्ता भएका हुन्। प्राधिकरणका अनुसार ३७ जिल्लाबाट यस्तो दाबी दर्ता भएको छ। कुल १५ वटा निर्जीवन बीमा कम्पनीहरू (१३ ठूला र २ लघु) मा यो दाबी पुगेको छ।

कम्पनीगत रूपमा हेर्दा, शिखर इन्स्योरेन्समा सबैभन्दा बढी ६१ करोड रूपैयाँको दाबी दर्ता भएको छ। त्यसपछि युनाइटेड अजोड इन्स्योरेन्समा ६० करोड ५६ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५० करोड ९४ लाख, एनएलजी इन्स्योरेन्समा ५० करोड ६० लाख र नेशनल इन्स्योरेन्समा ३० करोड ५० लाख रूपैयाँको दाबी परेको छ।

त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ३७ करोड ५७ लाख, दि ओरियन्टल इन्स्योरेन्समा २१ करोड ४३ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १७ करोड ६ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १२ करोड ४४ लाख, र नेको इन्स्योरेन्समा १२ करोड १० लाख रूपैयाँ बराबरको दाबी दर्ता भएको छ।

नेपाल इन्स्योरेन्समा १० करोड ६९ लाख, प्रभु इन्स्योरेन्समा १० करोड ४६ लाख, र सानिमा जिआईसीमा दुई करोड ८५ लाख रूपैयाँ बराबरको दाबी दर्ता भएको छ। लघु बीमा कम्पनीहरूमा ट्रस्ट माइक्रो इन्स्योरेन्समा ८ लाख २० हजार र स्टार माइक्रो इन्स्योरेन्समा आठ लाख रूपैयाँ बराबरको दाबी दर्ता भएको छ।

बीमाको वर्गअनुसार हेर्दा, सम्पत्ति बीमामा सबैभन्दा बढी दाबी परेको छ — तीन अर्ब १९ करोड ४९ लाख रूपैयाँ बराबरका ३८२ वटा दावी। बाढीले जलविद्युत् तथा अन्य भौतिक संरचनामा व्यापक असर पुर्‍याएको थियो। त्यसपछि इन्जिनियरिङ तथा ठेकदार बीमामा ५० करोड ६४ लाख (९२ दावी), कृषि बीमामा चार करोड ३२ लाख (२०९ दावी), र निजी मोटर बीमामा दुई करोड ६६ लाख (३७ दावी) दर्ता भएका छन्।

त्यस्तै सार्वजनिक मोटर बीमामा एक करोड आठ लाख (१० दावी), सामुद्रिक बीमामा नौ लाख ८५ हजार (३ दावी), र अन्य बीमामा १० लाख (१ दावी) दर्ता भएका छन्। हालसम्म बीमा कम्पनीहरूले अग्रिम भुक्तानी सुरु नगरेको देखिएको छ। तर, केही कम्पनीहरूले सर्भे प्रतिवेदनपछि अन्तिम दाबी भुक्तानी अघि केही अग्रिम रकम दिने योजना बनाइरहेका छन्। प्राधिकरणका अनुसार पछिल्ला बाढी–पहिरो र विभिन्न आन्दोलनका कारण बीमा कम्पनीहरूको दायित्व तीव्र रूपमा बढेको छ। जेनजी आन्दोलनबाट मात्र २३ अर्ब २३ करोड ३७ लाख रूपैयाँ बराबरका ३ हजार १८७ वटा बीमा दावी दर्ता भइसकेका छन्।



nationalnews7 nationalnews7   
  • November 3, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP