Dark Mode

      Subscribe

‘आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय छ’

104
SHARES
‘आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय छ’

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकभर सञ्चारको पहुँच विस्तार गर्दै आर्थिक समृद्धिमा नेपाल टेलिकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । नेपाल टेलिकमको २२औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद्, भूकम्प तथा महामारीजस्ता सङ्कटका समयमा नेपाल टेलिकमले निर्वाह गरेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे ।

सेवा विस्तारसँगै डिजिटल सेवा, डिजिटल साक्षरता र समग्र देश विकासमा नेपाल टेलिकमले उल्लेखनीय योगदान पुर्याएको उनको भनाइ छ । गृहमन्त्री अर्यालले दूरसञ्चार सेवा सम्पर्कको माध्यम मात्र नभइ शैक्षिक, आर्थिक र सामाजिक विकासको प्रमुख पूर्वाधार बनेको बताए ।

सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकासको आधारस्तम्भ भएकाले यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने उनको धारणा छ । आगामी दिनमा नेपाल टेलिकमले अत्याधुनिक प्रविधिमा आधारित सेवा प्रवाह गर्दै ग्राहकको आत्मसन्तुष्टिलाई केन्द्रमा राख्ने विश्वास पनि गृहमन्त्री अर्यालले व्यक्त गरे ।

सार्वजनिक संस्था नागरिक र सरकार जोड्ने सेतु भएको उल्लेख गर्दै उनले नागरिक-सरकार सम्बन्धलाई प्रगाढ बनाउन नेपाल टेलिकमको भूमिका महत्वपूर्ण रहने बताए । सरकारको नीति तथा कार्यक्रमलाई आत्मसात् गर्दै नागरिकप्रतिको कर्तव्य निर्वाहमा नेपाल टेलिकमले सरकारसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास आफूले लिएको उनले भने ।

नेपाल टेलिकमको सुदृढीकरण र विकासमा सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि गृहमन्त्री अर्यालले व्यक्त गरे । समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले नेपाल टेलिकमले गुणस्तरीय सेवा विस्तार गर्दै दुर्गम तथा पिछडिएका क्षेत्रमासमेत पहुँच स्थापित गरिने बताएका छन् ।



nationalnews7 nationalnews7   
  • February 5, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP