Dark Mode

      Subscribe

आजदेखि भारतबाट १२ घण्टा मात्रै बिजुली, लोडसेडिङ नहुने

1K
SHARES
आजदेखि भारतबाट १२ घण्टा मात्रै बिजुली, लोडसेडिङ नहुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गर्दै आएको बिजुली आजबाट सोलार समय अर्थात् १२ घण्टा मात्रै आपूर्ति हुने भएको छ । विद्युत् आपूर्ति नियमित गरेर लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट बिजुली किन्ने गरेको छ।

भारतबाट आउने बिजुली कटौतीमा परेपछि लामो समयपछि नेपालमा फेरि लोडसेडिङ हुनसक्ने समेत चर्चा छ । तर, भारतबाट आपूर्ति हुने बिजुलीको समयमा कटौती हुँदा पनि लोडसेडिङ भने नहुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अहिले भारतबाट दैनिक ६ सय मेगावाटभन्दा बढी बिजुली आयात गर्दै आएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भारतबाट आपूर्ति हुने बिजुली गत वर्षको यही समयमा पनि अहिले जस्तै आइरहेको भन्दै आपूर्ति समय कटौती भए पनि समस्या हुन नदिने बताए ।

‘हामीसँग वैकल्पिक धेरै व्यवस्था छन्, आरओआर र कुलेखानी छ, ती आयोजनाबाट ४ सय मेगावाट थपिन्छ’, प्रवक्ता घोषले भने । उनकाअनुसार प्राधिकरणले ठूला उद्योगलाई पिक आओरको समयमा बिजुली आपूर्ति नगर्ने समझदारी गरेको छ । त्यसअनुसार तराई क्षेत्रका प्रसारण लाइन व्यवस्थित नभएका केही उद्योग प्रभावित हुने बताइएको छ ।

भारतबाट १२ घण्टाभन्दा बढी समय बिजुली आपूर्ति नहुँदा पिक आओरमा औद्योगिक क्षेत्रका केही सीमित उद्योगमा सम्झौताअनुसार उपलब्ध नहुने प्रवक्ता घोषले बताएका छन् । उनकाअनुसार त्यो समय साँझ ५ बजेदेखि राती ११ बजेसम्म पिक आओरमा लागु हुन्छ ।

‘सम्झौताअनुसार पिक आओरमा दिन पाइँदैन, उहाँहरूले त्यसमा एग्रिमेन्ट पनि गर्नुभएको छ, समस्त उद्योगहरूमा कुनै समस्या हुँदैन’, उनी भन्छन्, ‘हाम्रो पावरहाउस हिमाली क्षेत्रमा छ, ठूला उद्योगहरू एकदमै तल छ, त्यसको लागि त प्रसारण लाइन पनि त्यहीअनुसारको चाहियो, भौगोलिक कारणले गर्दाखेरि कुनै–कुनै स्थानमा पुर्‍याउन नसकिने हुन्छ ।’

तर, काठमाडौं उपत्यका, मोरङ, बुटवल लगायतका औद्योगिक क्षेत्रमा भने समस्या नपर्ने प्रवक्ता घोषले बताएका छन् ।पछिल्लो हप्तामा विभिन्न आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा २० मेगावाट थपिएको छ । बागलुङ, म्याग्दी लगायतका जिल्लामा सञ्चालित केही पावरहाउसबाट छिट्टै थप बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने अवस्था रहेको उनले बताए ।



nationalnews7 nationalnews7   
  • March 16, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP