Dark Mode

      Subscribe

‘विकास निर्माण र सुशासनका लागि सबै निकाय प्रभावकारी पारिने’

598
SHARES
‘विकास निर्माण र सुशासनका लागि सबै निकाय प्रभावकारी पारिने’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सकेसम्म सन्तुलित रूपमा बजेट ल्याएको अवगत गराउँदै आउँदा दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसदहरू सन्तुष्ट हुने स्थिति नआएकाले आगामी दिनमा सन्तुलन कायमको प्रयास गरिने प्रधानमन्त्री ओलीले जनाए ।

‘हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ । त्यस कारण बजेटमा सबै सांसद सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ । माग र आपूर्तिको असन्तुलन मिलाउन आउँदा दिनमा ध्यान दिइनेछ’, उनले भने, ‘हामीलाई लगानीको आवश्यकता छ, यसका लागि निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनुपरेको छ । लगानीको आवश्यकता, विश्लेषण र योजनाका लागि लगानी बोर्डबाट प्रभावकारी काम गरिनेछ ।’

प्रधानमन्त्री ओलीले संसद् नागरिकको बलिदान, सङ्घर्ष र सपनालाई साकार पार्ने थलो भएकाले सदनमा लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्का टिप्पणी नगर्न आग्रह गरेका छन् । विद्यमान व्यवस्थालाई अझ प्रभावकारी बनाउने गरी संविधानको संशोधनमा सरकार लाग्ने भएकाले संविधान र प्रणालीको अपमान हुने खालका कुरा नगर्न उनले आग्रह गरे ।

‘यो प्रणाली र संविधानको रक्षा गरौँ । यसको कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य पूरा गर्ने सवालमा सरकार अघि बढेको छ । यसमा सबै ढुक्क भए हुन्छ’, प्रम ओलीले भने , ‘ममाथि गरिएको गाली र अपमान सहन्छु तर शहीद, नागरिकको बलिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सहन्न । संसद् नागरिकको बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन सक्दैन ।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगका योजना बैंकको व्यवस्था गरी ३ करोड रुपैयाँभन्दा कमका आयोजना नराखिएको नीति तर्जुमा गरिएको जनाउँदै आगामी वर्षमा यसको प्रभावकारी कार्यान्वयनका लागि जोड दिइने बताए । राज्यका सबै निकायलाई विकास निर्माण र सुशासनका लागि प्रभावकारी रूपमा काम गरेर जनअपेक्षा अनुरूप सम्मुनतिको मार्गमा अघि बढाउन सरकार प्रयासरत रहेको स्पष्ट गर्दै उनले सरकारलाई कसैका विरुद्ध कुनै खेल खेल्ने फुर्सद नभएकाले खेल खेल्यो भन्ने खालका प्रचार नगर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने बताए । विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा सांसदहरूको स्पष्टीकरणमाथि जवाफ दिँदै उनले उक्त पुल छिटो बन्नेमा ढुक्क हुन आग्रह गरे।

अहिलेको सरकारले सबै ठाउँमा आवश्यक बाटा घाटा र निर्माणमा ध्यान दिने उल्लेख गर्दै उनले राष्ट्रिय हितलाई ध्यानमा राखेर सबै विषयमा सरकारले आवश्यक र उचित काम गर्ने स्पष्ट गरे । उनले भने, ‘राष्ट्रिय हितका सन्दर्भमा सजग रहेर विश्व शान्ति र न्यायका पक्षमा सदैव हामी छौँ । हाम्रो असंलग्न परराष्ट्र नीतिप्रति हामी प्रतिबद्ध छौँ । प्रविधि र पुँजी ल्याउँदा साम्राज्यवाद आउँछ भनिनु हुँदैन । हामीले साम्राज्यवाद नपस्ने गरी विदेशी पुँजीको लगानी गर्छौँ । कुनै पनि विकासका लागि लगानी र ऋण ल्याउँदा राष्ट्रको आवश्यकता र औचित्यताका आधारमा सम्झौता गरिनेछ तर यसमा सङ्कीर्ण सोचमा हामी हुन्नौँ ।’

प्रधानमन्त्री ओलीले सरोकारवाला पक्षले आवाज उठाए पनि वन नउठाए पनि निजामती विधेयक र विद्यालय शिक्षा विधेयक तुरुन्तै ल्याउने विश्वास व्यक्त गरे। उनले दैलेखमा उत्खनन भएको मिथेन ग्यासको आगामी आर्थिक वर्षभित्र उत्पादन र सदुपयोग हुने गरी काम गरिने प्रतिबद्धता व्यक्त गरे।



nationalnews7 nationalnews7   
  • June 24, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP