Dark Mode

      Subscribe

पाँच महानगरपालिकाको बजेट कति ? काठमाडौंले ल्याउन सकेन

858
SHARES
पाँच महानगरपालिकाको बजेट कति ? काठमाडौंले ल्याउन सकेन

काठमाडौं । देशभरका पाँच महानगरपालिकाले मंगलबार बजेट सार्वजनिक गरेका छन् । तर देशकै ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकाले समयमा बजेट ल्याउन सकेन । स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्यरूपमा बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था भएपनि काठमाडौैं महानगरपालिका समयमा बजेट ल्याउन यसपालि असफल भएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार यो महानगरको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएन । काठमाडौं महानगरपालिकामा बजेट निर्धारण समितिको सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ र मेयर शाहबीच विवाद हुँदा बजेट आउने नसकेको हो । स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक नै बस्न सकेको छैन ।

बजेट जारी नहुँदा कानुनी संकट सिर्जना भएको छ । आपसी मनमुटावका कारण बजेट नै जारी नहुने अवस्थापछि उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षले बालेनलाई भेटेर सहमतिको प्रयास गरेका छन् । यसबाहेक अन्य पाँच महानगरपालिकाले भने आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट सार्वजनिक गरिसकेका छन् । जसमध्ये पोखरा महानगरपालिकाले सबैभन्दा ठूलो बजेट ल्याउँदा वीरगञ्जले भने सानो आकारको बजेट ल्याएको छ ।

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आठ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेट अनुसार संघीय सशर्त अनुदान तीन अर्ब १३ करोड १२ लाख र आन्तरिक आयबाट ५ अर्ब २२ करोड व्यहोरिने भएको छ ।

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ७ अर्ब ४६ करोड ८३ लाख बराबरको बजेट ल्याएको छ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मंगलबार नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । महानगरले चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख र पूँजीगत तर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख र रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेका बजेट अनुसार बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड चार लाख ४१ हजार अनुमान गरिएको छ ।

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार उपप्रमुख शिल्पा निरला कार्कीले ४ अर्ब ४० लाखको बजेट प्रस्तुत गरेकी हुन् । महानगरले संघीय सरकारको सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख अनुमानित खर्चको स्रोत व्यहोर्ने अनुमान गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख इम्तियाज आलमले प्रस्तुत गरेको बजेट अनुसार बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख, पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख विनियोजन गरिएको छ ।

 



nationalnews7 nationalnews7   
  • June 24, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP