Dark Mode

      Subscribe

वनफूलले ढाकिएका पाटन हेर्ने कास्कीको कोरी जाने कि

338
SHARES
वनफूलले ढाकिएका पाटन हेर्ने कास्कीको कोरी जाने कि

गण्डकी । काठमाडौँ बस्ने दीपा पौडेलले यसपालि मनसुन पदयात्राका लागि कास्कीको कोरी रोजे । पेसाले स्टाफ नर्स उनी गएको मध्य असारमा साथीहरुसित तीन हजार ८०० मिटर उचाइको कोरी पुगे । पदयात्रामा उनीसहित सात जना थिए । पोखराबाट मादी गाउँपालिका-१ सिक्लेससम्म तीन घण्टाको मोटरयात्रापछि उनीहरु छ घण्टा हिँडेर तस पुगे । त्यस दिन तसमै रात काटे । भोलिपल्ट त्यहाँबाट पैदल सात घण्टामा कोरी पुगे । कोरीको सौन्दर्यबारे देखे सुनेर लालयीत बनेका उनीहरुले कोरी घुमघामका लागि मनसुन याम नै किन रोजे त ? पौडेल भन्छन्, ‘त्यहाँबाट देखिने हरिया डाँडाकाँडा, वनफूलले ढाकिएका पाटन र छिनछिनमा फेरिइरहने मौसमले लोभ्याउँदोरहेछ ।’ पहिलो दिन कोरी पुग्दा मौसम धुम्मिएपछि त्यो रात कोरीमै बिताएको उनले सुनाए । हिउँदमा जस्तो छ्याङ्ग हिमाल नखुले पनि रिमझिम वर्षा र बाँदलभित्र लुकामारी खेलिरहेको अन्नपूर्ण र लमजुङ हिमालको दृश्यले रोमाञ्चित बनाएको पौडेलले बताए । पौडेलले सामाजिक सञ्जाल टिकटकमा कोरीको भिडियो देखेपछि साथीहरु मिलेर घुम्ने योजना बनाएको बताए । कोरी पदयात्रा तीन दिनमै पूरा गर्न सकिने र धेरै खर्चिलो पनि नभएको उनले बताए । स्तरीय पदमार्गसहित पर्यटकीय सुविधा पनि उपलब्ध भएकाले कोरीको यात्रा सहज भएको पौडेलले सुनाए । सिक्लेसका पर्यटन व्यवसायी धन गुरुङले सिक्लेस-कपुचे-कोरी पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आउजाउ बढेको बताए । पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार ८०० मिटरको कोरी लेक पुग्ने गरेको गुरुङले बताए । सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईवटा पदमार्ग छन् । तीन दिनमा कोरी ट्रेक घुम्न सकिन्छ । पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन् । पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने सञ्चार सामग्री, युट्युब माध्यमलगायतले त्यस क्षेत्रलाई उजागर गरिदिएपछि पर्यटकको थप आकर्षण बढेको पर्यटन व्यवसायी गुरुङको भनाइ छ । बागलुङकी सकुन्तला थापा पनि वर्षात्को कुनै पर्वाह नगरी गत असारको अन्तिम साता ढोरपाटनको बुकी क्षेत्र पुगे । मनसुन पदयात्राका लागि पछिल्लो समय चर्चामा रहेको उक्त क्षेत्र पुग्नेमा उनी एक्लै भने थिए । साथमा अरु चार जना साथी पनि थिए । असार ३० मा बागलुङ बजारदेखि मोटर यात्रामा निस्किएको उक्त टोली त्यसै दिन दिउँसो ढोरपाटन उपत्यका पुगेको थियो । चार हजार मिटरमाथिसम्म फैलिएको बुकीपाटन पुग्ने लक्ष्यसहित उनीहरु त्यहाँबाट पदयात्रा सुरु गरे । पाँच घण्टाको पदयात्रापछि बुकी पुगे । चार हजार मिटर उचाइमा अवस्थित गर्पाछेडासम्म पुगेर फर्किएको थापाले बताए । पहिलो दिन बुकीमा रहेको गोठमा रात बिताएर भोलिपल्ट घुमफिर गरी साँझ ढोरपाटन उपत्यका झरेको उनको भनाइ छ । विशाल क्षेत्रमा फैलिएका हरिया पाटन र खर्कले यो याममा बुकीको आकर्षण बढाएको उनले बताए । ढोरपाटन उपत्यका पनि अहिले रङ्गीचङ्गी भुइँफूलले सजिएको छ । वनफूलले ढाकिएको उपत्यकामा घोडा सयर गर्न पाउनु त्यहाँको अर्को आकर्षण रहेको थापाले बताए । पोखराका पर्यटक पथप्रदर्शक दिवस गुरुङले तीन÷चार वर्षयता मनसुन याममा ढोरपाटन घुम्ने पर्यटकको सङ्ख्या बढेको बताए । गुरुङले आफू पनि हालै ढोरपाटन घुमेर फर्केको सुनाए । त्यहाँ छँदा जाजरकोट, अर्घाखाँची, गुल्मीदेखि आएका पर्यटकलाई भेटेको उनले बताए । असारदेखि भदौसम्मको समय मनसुन बढी सक्रिय हुने र यो बेला बाढीपहिरोजस्ता प्राकृतिक विपद्का घटना निम्तने भएकाले विशेष सावधानी अपनाएर मात्र यात्रा गर्नुपर्ने उनको सुझाव छ । उनले मनसुन याममा घुमफिरका लागि उपयुक्त थुप्रै गन्तव्य नेपालमा भए पनि तिनको उजागर हुन नसकेको बताए । पछिल्लो समय गण्डकी प्रदेशमा कास्कीको कोरी, बागलुङको ढोरपाटन, बागलुङ र पूर्वीरुकुमको सीमामा पर्ने चौँरीखर्कलगायत गन्तव्यस्थल मनसुन पदयात्राका लागि चिनिन थालेको गुरुङले बताए । ट्रेकिङ ऐजिन्सिज एसोसिएसन अफ नेपाल, गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सम्भावना भएर पनि नेपालमा मनसुन याम केन्द्रित पर्यटकीय गतिविधि हुन नसकेको बताए । मनाङ, मुस्ताङलगायत उपल्लो भेगमा यस याममा पनि पदयात्राका गतिविधि सञ्चालन गर्न सकिने उनको भनाइ छ ।



nationalnews7 nationalnews7   
  • July 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP