Dark Mode

      Subscribe

टुर्गानले आयोजना गरेको पाँचदिने पर्यटन गाइड पुनर्ताजगी तालिम आइतबार समापन हुँदै

1.4K
SHARES
टुर्गानले आयोजना गरेको पाँचदिने पर्यटन गाइड पुनर्ताजगी तालिम आइतबार समापन हुँदै

काठमाडौं । टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) ले पर्यटक पथप्रदर्शकहरूका लागि आयोजना गरेको पाँचदिने पुनर्ताजगी तालिम जारी छ । काठमाडौंस्थित होटल जी रामायणा, कालधारा (सोह्रखुट्टे) मा बुधबार (सेप्टेम्बर १७) देखि सुरु भएको तालिम आइतबार (सेप्टेम्बर २१) समापन हुँदैछ । तालिममा सहभागी पर्ययट गाइडहरुले तालिम उपलब्धिमुलक हुने प्रतिक्रिया दिएका छन् ।

नेपाल पर्यटन बोर्ड र युएनडीपीको सह-लगानी, दिगो पर्यटन परियोजना (एसटीपी) सँगको सहकार्यमा सञ्चालित तालिम शुभारम्भको कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशी हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा हानका महासचिव साजन शाक्य र रामबहादुर कुँवर हुनुहुन्थ्यो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले एकाएक विकसित भएको परिस्थितिलाई मध्यनजर राखेर यतिखेर सारा पर्यटन क्षेत्रसँग सम्बद्ध पक्षहरू संयमित हुनुपर्ने बताउनु भयो । यतिबेला विदेशी पर्यटक आगमनमा ४० प्रतिशतले गिरावट आए पनि आफ्नो भ्रमण भने त्यस्तै १२–१४ प्रतिशतले मात्र रद्द गरेकाले हतोत्साहित भइ हाल्न नहुने सीईओ जोशीको भनाइ थियो । अहिलेको खास चिन्ता र चासो भनेको यहाँ रहेका विदेशी पाहुनालाई कसरी सुरक्षित राख्ने भन्ने हो भन्दै जोशीले पर्यटन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सबैभन्दा मेहनत होटलको शिष्टाचार गाइडको व्यवहार र सवारी चालकको मर्यादा हुने उल्लेख गर्नुभयो । उहाँले पर्यटन बोर्डले विदेशका सम्बन्धित निकायमा अहिले सुरक्षा सङ्कट नभएको भन्ने व्यहोराको पत्राचार भइसकेको विषयमा आश्वस्त पार्नु भएको थियो । उहाँले सम्बद्ध सबै संस्थाले पनि सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनु भयो।

टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले युएनडीपी, एनटीबीका सीईओ दीपकराज जोशी, श्रद्धा श्रेष्ठ, धर्मराज दवाडी लगायत टुरिजम बोर्ड, सम्पूर्ण एसटीपी प्रतिनिधि तथा सिङ्गो परिवारलाई धन्यवाद दिनु भएको थियो । तालिमको निम्ति होटल उपलब्ध गराएकामा उमेश गुप्ताका साथै प्रशिक्षक र प्रशिक्षणमा सहभागी सम्पूर्ण पथप्रदर्शकप्रति अध्यक्ष देवकोटाले कृतज्ञता प्रकट गर्नुभयो ।

सेप्टेम्बर १७ देखि २१ सम्म सञ्चालन हुने पाँच दिने तालिममा रामबहादुर कुँवर, एकल सिलवाल, डा. मदनकुमार रिमाल, डा. सोमप्रसाद खतिवडा, डा. निर्मला पोखरेल, अनिल चित्रकार, डा. बज्रमुनि बज्राचार्य, डा. कुलेश थापा लगायतले प्रशिक्षण दिँदैछन् । प्रशिक्षकहरुले संस्कार, धर्म, संस्कृति, इतिहास, बौद्ध धर्म, कला र वास्तुकला, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र विदेशी पाहुना सत्कार जस्ता महत्त्वपूर्ण विषयमा प्रशिक्षण दिइरहेका छन् ।

यस पुनर्ताजगी तालिमले आफूहरुको काममा थप निखारपन आउने पर्यटन गाइडहरुले विश्वास लिएका छन् ।

 

 



nationalnews7 nationalnews7   
  • September 18, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP