Dark Mode

      Subscribe

मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन

182
SHARES
मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी-सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन ।

दश दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती भएको छ । सो सडकखण्डअन्तर्गत माइजोगमाई गाउँपालिका-४ नामसालिङ र इलाम नगरपालिका-१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारी सञ्चालनको प्रयास भइरहेको छ ।

तर खोलामा पानीको बहाव उच्च रहनुका साथै आवश्यक ह्युमपाइप अभाव भएकाले तत्काल सञ्चालन गर्न नसिकएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए ।

उनका अनुसार पाँचथरबाट ह्युमपाइप मगाइएको र मङ्गलबारसम्म आइपुग्ने व्यवस्था गरिएको छ । डाइभर्सन निर्माणका लागि हाल चारवटा स्काभेटर परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आइतबार सरोकारालासँगको स्थलगत निरीक्षणपछि मेची राजमार्गको विकल्पका रूपमा तिल्केनी-सिमलगोलाइ सडक सञ्चालन गर्ने निर्णय गरेको थियो ।

गत असोज १८ गतेको बाढीले यहाँको बेलीब्रिज बगाएपछि यो सडक पनि अवरुद्ध भएको हो । गत असारमा निर्माण सम्पन्न गरिएको बेलीब्रिज बाढीले बगाएपछि यहाँको आवागमन अवरुद्ध बनेको हो । इलाम सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने यो वैकल्पिक सडक सञ्चालनका लागि प्रमुख विकल्प मानिएको छ ।

इतबारदेखि तिल्केनी-बज्रदेवी-नामसालिङ-नयाँबजार-फिक्कल सडकमार्फत साना सवारीसाधन सञ्चालनमा रहेका छन् । ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालले बताउनुभयो । तीब्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ ।

वर्षासँगै आएको पहिरो झरेपछि विगत १० दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद छ । इलाम-राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा समस्या देखिएको छ । जटिल भूसंरचनाका कारण सो सडक तत्कालन खुलाउन नसकिने भएको सडक डिभिजन प्रमुख भट्टराईले बताए ।



nationalnews7 nationalnews7   
  • October 14, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP