Dark Mode

      Subscribe

रवि र बालेनबीच भयो ७ बुँदे सम्झौता, बालेन कुन पार्टीमा ?

520
SHARES
रवि र बालेनबीच भयो ७ बुँदे सम्झौता, बालेन कुन पार्टीमा ?

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने सहमति गर्दै ७ बुँदे सम्झौता गरेका छन्। सम्झौताअनुसार रास्वपाको नेतृत्व रवि लामिछानेले गर्नेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिनेछ।

आगामी एक दशकका लागि मुलुकको मार्गचित्र अघि सार्ने प्रतिबद्धतासहित गरिएको सम्झौतामा पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राखिने उल्लेख छ। बालेन शाह रास्वपाभित्र आवद्ध हुन तयार भएपछि उक्त संरचना परिवर्तन नगरिने सहमति भएको हो।

सम्झौतापत्रमा दुवै नेताले आफ्नो पदीय हैसियत उल्लेख नगरी नाममात्रै हस्ताक्षर गरेका छन्। यद्यपि, दस्तावेजमा ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने’ र ‘आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’ स्पष्ट उल्लेख छ।

सम्झौतापछि बालेन शाह मेयर पदबाट राजीनामा दिएर सक्रिय पार्टी राजनीतिमा प्रवेश गर्ने सम्भावना देखिएको छ। पहिलो बुँदामा नवयुवा (जेन–जी) ले भ्रष्टाचार र कुशासनविरुद्ध थालेको आन्दोलनको अपनत्व लिने र घाइते तथा शहीद परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।

दोस्रो बुँदामा सुशासन, समुन्नति र सामाजिक न्यायका लागि नीतिगत, संस्थागत र संरचनागत सुधार गर्ने उल्लेख छ। उनीहरूले नेपाललाई १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको देश बनाउने लक्ष्यसहित इमान्दार प्रयास गर्ने बताएका छन्।

सम्झौतामा पार्टी संगठनलाई सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने उल्लेख छ। यद्यपि, कुलमान घिसिङ र उनी आवद्ध उज्यालो नेपाल पार्टीका विषयमा सम्झौतामा कुनै उल्लेख छैन, तर बृहत् एकताका क्रममा समेट्ने संकेत गरिएको छ।

सम्झौता तत्काल कार्यान्वयन गर्ने तयारीसहित निर्वाचन आयोगमा रहेको रास्वपाको अभिलेख अद्यावधिक गरिने जनाइएको छ। बालेन पक्षका समानुपातिक उम्मेदवारहरू रास्वपाबाटै प्रतिस्पर्धा गर्नेछन् र दुई दिनभित्र सूची आयोगमा बुझाइने सम्भावना छ। प्रत्यक्षतर्फको मनोनयनका लागि भने अझै करिब तीन साता समय बाँकी छ।

उनीहरूले आफ्नो अभियानलाई ‘वैकल्पिक राजनीतिक शक्ति’ को रूपमा अघि बढाउँदै रास्वपाको सिद्धान्त, नेतृत्व र चिन्हमा गोलबद्ध हुन आह्वान गरेका छन्। साथै, लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका पक्षमा रहेका अन्य परिवर्तनकामी शक्ति, समूह र व्यक्तिलाई पनि सहकार्यका लागि आमन्त्रण गरिएको छ।

यसअघि पटक–पटक एकताबारे छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन। रवि लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशबाट रिहा भएपछि पार्टी एकतासम्बन्धी संवादले तीव्रता पाएको थियो। यद्यपि, आइतबार बिहान भएको सम्झौतामा कुलमान घिसिङ सहभागी छैनन्।



nationalnews7 nationalnews7   
  • December 28, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP