Dark Mode

      Subscribe

चन्द्रागिरि केबलकारमा स्थानीयवासीलाई ५० प्रतिशत छुट लागू

442
SHARES
चन्द्रागिरि केबलकारमा स्थानीयवासीलाई ५० प्रतिशत छुट लागू

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले आजदेखि चन्द्रागिरि केबलकार सेवामा ५० प्रतिशत छुट पाउन थालेका छन्। केबलकार प्रवर्द्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको गत पुस २३ गते सम्पन्न १६औँ वार्षिक साधारणसभाले माघ १ गतेदेखि लागू हुनेगरी उक्त छुट उपलब्ध गराउने निर्णय गरेको थियो।

माघ १ गते सार्वजनिक बिदा परेकाले छुटसम्बन्धी निर्णय आजदेखि कार्यान्वयनमा आएको हो। कम्पनीको निर्णयअनुसार चन्द्रागिरि नगरपालिकासँगै मकवानपुर जिल्लाको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीयवासीले पनि केबलकार सेवामा ५० प्रतिशत छुट पाउनेछन्। हाल केबलकारको साधारण टिकट मूल्य ८२५ रुपैयाँ रहेको छ।

यसअघि चन्द्रागिरि केबलकारको बेस स्टेसन आसपासका वडा नं. १ देखि ५ सम्मका बासिन्दालाई मात्र २५ प्रतिशत छुट दिइँदै आएको थियो। नगर कार्यपालिकाले सबै नगरवासीले अपनत्व महसुस गर्ने गरी सम्पूर्ण नगरवासीलाई छुट दिलाउने निर्णय गरेपछि यो व्यवस्था विस्तार गरिएको नगरका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष कृष्ण खड्गीले बताए।

छुट लिनका लागि यात्रुले आफू चन्द्रागिरि, थाहा वा इन्द्रसरोवर क्षेत्रको स्थानीय भएको प्रमाण खुल्ने कागजात अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ। साथै, टिकट खरिदका क्रममा स्वयं उपस्थित हुनुपर्ने र सार्वजनिक बिदाका दिनमा भने यो छुट लागू नहुने व्यवस्था गरिएको छ।



nationalnews7 nationalnews7   
  • January 17, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP