Dark Mode

      Subscribe

बीमा ऐनका प्रावधानहरू पालना नगर्ने आठ बीमा कम्पनी कारबाहीमा

65
SHARES
बीमा ऐनका प्रावधानहरू पालना नगर्ने आठ बीमा कम्पनी कारबाहीमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीमाथि कारबाही गरेको छ। नियामक निकायका अनुसार ऐन तथा निर्देशनको बेवास्ता गर्ने संस्थाहरूलाई अनुशासनमा ल्याउने उद्देश्यले यस्तो कदम चालिएको हो।

कारबाहीमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी परेका छन्। प्राधिकरणकी प्रवक्ता पुजन ढुङ्गेलका अनुसार ती कम्पनीहरूले तोकिएको नियामकीय मापदण्ड पूर्ण रूपमा पालना नगरेको पाइएपछि कारबाही अघि बढाइएको हो।

यस क्रममा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई संस्थागत सुधारका लागि सचेत गराउने तथा आवश्यक निर्देशन दिने प्रकृतिको कारबाही गरिएको छ। त्यस्तै, नियम उल्लङ्घन गरेको ठहर गर्दै एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनीलाई तीन महिनासम्मका लागि निलम्बन गरिएको प्राधिकरणले जनाएको छ।

अन्य बाँकी छ वटा बीमा कम्पनीहरूलाई भने प्रचलित बीमा ऐनअनुसार जनही दुई लाख रुपैयाँका दरले नगद जरिवाना गरिएको छ। प्राधिकरणका अनुसार यो कारबाही पहिलोपटक निर्देशन उल्लङ्घन गरेका आधारमा गरिएको हो।

बीमा ऐन २०७९ को दफा १३८ को उपदफा ४ अनुसार प्राधिकरणको निर्देशन विपरीत काम गर्ने निकायलाई दुई लाखदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ। सोही प्रावधानअनुसार पहिलोपटक उल्लङ्घन गरेमा दुई लाख रुपैयाँ, दोस्रोपटक दोहोर्‍याएमा २५ लाख रुपैयाँ र तेस्रो वा सोभन्दा बढी पटक गल्ती दोहोरिएमा प्रत्येकपटक ५० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ। यसपटक भने न्यूनतम जरिवाना लगाइएको प्राधिकरणले स्पष्ट पारेको छ।

 



nationalnews7 nationalnews7   
  • March 23, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP