Dark Mode

      Subscribe

६ सय बाँदर मारेको स्वीकारेको भन्दै सांसद ध्रुवराजविरुद्ध उजुरी

13
SHARES
६ सय बाँदर मारेको स्वीकारेको भन्दै सांसद ध्रुवराजविरुद्ध उजुरी

भोजपुर । ६ सय वटा बाँदर मारेको स्वीकार गरेको भन्दै प्रतिनिधिसभा सांसद ध्रुवराज राईविरुद्ध प्रहरीमा उजुरी हालिएको छ । ललितपुरस्थित ‘स्नेहाज केयर’ का ४० वर्षीय रूपक कोइरालाले राईविरुद्ध जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएका हुन् ।

जाहेरीमा भोजपुर टेम्केमैयुङ गाउँपालिका अध्यक्ष हुँदा ‘६०० वटा बाँदर मारेको भनी एक अन्तर्वार्तामा स्वीकार गरेको’ ले राईमाथि सोही भिडिओ प्रमाण र प्रत्यक्षदर्शीको बयानको आधारमा कारबाही अघि बढाउन भनिएको छ ।

जाहेरीकर्ता कोइरालाले राईको उक्त कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनविपरीत भएको भन्दै कडा कारबाहीको माग गरेका छन् । उक्त कानुनी प्रावधान अनुसार अन्य वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई १ लाख रूपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र १ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको जाहेरीमा जिकिर गरिएको छ ।

यसैबीच भोजपुरका डीएसपी राजु लामाले कानून नै नबुझी हचुवाको भरमा उजुरी हालिएकाले दर्ता नगरेको बताए ।

उनले नेपाल प्रेससँग भने- हामीलाई इमेलमा जाहेरी पठाएर उहाँले दर्ता नम्बर माग्दै हुनुन्थ्यो । पहिलो कुरा त वन्यजन्तु संरक्षणसम्बन्धी विषय डिभिजन वनको क्षेत्राधिकारको कुरा हो । वनले अनुरोध गर्दा हामीले अनुसन्धानमा सहयोग गर्ने हो । अर्को कुरा बोलेको कुरालाई मात्र कसरी प्रमाणका रूपमा लिने ? कि त छाला/हड्डी (अखेटोपहर) प्रमाणका रूपमा भेटिनुपर्‍यो । यसरी रे को भरमा उजुरी दर्ता गर्दै मान्छे थुन्दै जाने हो भने तपाईँ हामी को बाँकी रहौँला, त्यसरी त रुल अफ ल हैन हुल अफ ल भइजान्छ नि !

भोजपुरबाट निर्वाचित श्रम संस्कृति पार्टीका सांसद राईले सदनमा पनि निरन्तर बाँदर व्यवस्थापनका लागि सरकारले ठोस नीतिसहित निर्णय लिनुपर्ने माग गर्दै आएका छन् ।

बाँदरले किसानलाई गरिखान नदिएको र गाउँ नै उठीबास हिँड्नुपरेको पीडा सुनाउँदै उनले जनतालाई रुवाएर र आफ्नै भूमिमा बस्न नसक्ने अवस्था सिर्जना गर्ने बाँदर आतंक पाल्न नसक्ने बताएका थिए ।

यस सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत मध्यनजर गर्दै बाँदर नियन्त्रणबारे सरकारले कार्यदल बनाएर अध्ययन गरिरहेको जवाफ दिएका थिए ।



nationalnews7 nationalnews7   
  • June 5, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP