Dark Mode

      Subscribe

बालेन नेतृत्वको सरकारका कारण डीडीसी लोकप्रिय हुँदै, रास्वपा महाधिवेशनमा उत्साहजनक बिक्री

13
SHARES
बालेन नेतृत्वको सरकारका कारण डीडीसी लोकप्रिय हुँदै, रास्वपा महाधिवेशनमा उत्साहजनक बिक्री

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दुग्ध विकास संस्थान (DDC) को सामाजिक सञ्जालमा प्रवर्द्धन र प्रचार गरेपछि यसका उत्पादनहरूको बजार माग ह्वात्तै बढेको छ। यसको निरन्तरता स्वरूप चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा राखिएको डीडीसीको स्टलमा आइसक्रिम, फ्रेस मिल्क र दही किन्न कार्यकर्ताको घुइँचो लाग्दा उत्साहजनक व्यापार देखिएको छ ।बालेनको ‘डीडीसी ब्रान्डिङ र रास्वपा महाधिवेशनको चहलपहलले यसलाई थप प्रवर्द्धन गरेको छ

प्रधानमन्त्री बालेनले डीडीसीको चिज र अन्य उत्पादनहरूको तस्बिर सार्वजनिक गरेपछि डीडीसीको दैनिक व्यापारमा २५ देखि ३० प्रतिशतले वृद्धि भएको छ । विशेषगरी याक चिजको माग बढेर स्टक नै सकिएको थियो ।

चितवनमा जारी रास्वपाको महाधिवेशनले राजनीतिक गतिविधिसँगै स्वदेशी दुग्धजन्य उत्पादनको प्रवर्द्धनलाई पनि स्थान दिएको छ। महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डिडिसी) का विभिन्न उत्पादन बिक्रीका लागि राखिएका छन् र ती उत्पादनले सहभागीहरूको राम्रो ध्यान आकर्षित गरेका छन्।

हेटौँडा दुग्ध विकास आयोजनाले महाधिवेशन स्थलमा आफ्नो बिक्री स्टल सञ्चालन गरेको छ। स्टलमा दूध, दही, फ्रेस मिल्क, मोही, लस्सी, मिठाई र आइसक्रिम उपलब्ध छन्। गर्मी बढेकाले फ्रेस मिल्क, मोही, दही र लस्सीको माग उल्लेखनीय रूपमा बढेको छ।

आयोजनाका प्रमुख राजीव खनालले महाधिवेशन स्थलमा दुग्धजन्य पदार्थको बिक्री राम्रो भइरहेको जानकारी दिनुहुन्छ। उहाँका अनुसार उत्पादनअनुसार पाँचदेखि १० प्रतिशतसम्म छुट प्रदान गरिएको छ। यसले उपभोक्तालाई आकर्षित गरेको छ र दैनिक दुई लाख ५० हजारदेखि तीन लाख रुपैयाँसम्मको कारोबार हुन थालेको छ।

पछिल्लो समय डिडिसीका उत्पादनको बिक्री लगातार बढेको छ। करिब एक महिनाअघि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमा डिडिसीका उत्पादन तथा चिजसहितको तस्बिर सार्वजनिक गर्नुभएको थियो। उक्त तस्बिर भाइरल भएपछि डिडिसीका उत्पादनप्रति आम नागरिकको चासो बढेको छ।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकमा डिडिसीका उत्पादन प्रयोग गरिएको तस्बिर सार्वजनिक भएपछि पनि संस्थानका उत्पादनले थप चर्चा पाएका छन्। यसले स्वदेशी उत्पादनप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ।

डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार संस्थानका उत्पादनको बिक्री पछिल्ला दिनमा निरन्तर बढिरहेको छ। हाल डिडिसीले दैनिक ६० हजारदेखि ६५ हजार लिटर दूध सङ्कलन गर्दै आएको छ। बजारमा दैनिक ८० हजारदेखि ८५ हजार लिटर दूधको माग रहे पनि अफ-सिजनका कारण दूध सङ्कलनमा कमी आएको छ।

माग र आपूर्तिबीचको अन्तर व्यवस्थापन गर्न डिडिसीले आवश्यक परे दूध पाउडर मिसाएर बजारमा आपूर्ति गर्दै आएको छ। बढ्दो माग र सकारात्मक प्रतिक्रियाले डिडिसीका उत्पादनले बजारमा आफ्नो उपस्थिति अझ बलियो बनाएको संकेत गरेको छ। रास्वपाको महाधिवेशन राजनीतिक कार्यक्रम मात्र नभई स्वदेशी उत्पादनको प्रचार–प्रसार र बजार विस्तारको प्रभावकारी माध्यम पनि बनेको छ।



nationalnews7 nationalnews7   
  • June 22, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP