Dark Mode

      Subscribe

बाढी अपडेटः तत्काल उद्धारका लागि मात्रै ७ अर्ब ५० करोड आवश्यक

260
SHARES
बाढी अपडेटः तत्काल उद्धारका लागि मात्रै ७ अर्ब ५० करोड आवश्यक

काठमाडौँ। रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन नेपालले करिब सात अर्ब ५० करोड रुपियाँ खर्च गर्नुपर्ने देखिएको छ । बाढीपहिरोबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका छ जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई तत्काल राहत, खाद्यान्न, स्वास्थ्य सेवा, अस्थायी आवास तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन ठूलो स्रोत आवश्यक पर्ने देखिएको हो ।

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वयसम्बन्धी निकाय (ओसिएचए) ले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा तत्काल मानवीय सहायता सञ्चालन गर्न चार करोड ९६ लाख अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । नेपाली रुपियाँमा यो रकम करिब सात अर्ब ५० करोड बराबर हुन्छ । राष्ट्रसङ्घले प्रभावित नागरिकलाई आवश्यक पर्ने सहायता तत्काल उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसमक्ष सहयोगका लागि अपिलसमेत गरेको छ ।

ओसिएचएले भदौ १० गते भोटेकोशी र त्रिशूली नदी आसपासमा आएको बाढीपहिरोबाट करिब ८४ हजार २७० जना प्रभावित भएको प्रारम्भिक अनुमान गरेको छ । बाढीले नदी किनार तथा आसपासका बस्तीमा रहेका घरपरिवारलाई प्रत्यक्ष असर पारेको छ भने सडक, पुल, बजार, खानेपानी, सञ्चार तथा विद्युत् पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ ।

प्रतिवेदनअनुसार प्रभावित छ जिल्लाका १७ स्थानीय तहमा रहेका १९ हजार २८४ घरपरिवारलाई तत्काल मानवीय सहयोग आवश्यक पर्ने देखिएको छ । ती परिवारलाई आगामी चार महिनासम्म आपत्कालीन राहत व्यवस्थापन गर्न आवश्यक पर्ने स्रोतको अनुमानका आधारमा चार करोड ९६ लाख अमेरिकी डलरको सहायता आवश्यकता औँल्याइएको हो ।

बाढीबाट विस्थापित तथा जोखिममा रहेका परिवारका लागि सुरक्षित अस्थायी आवासको व्यवस्था, खाद्यान्न, स्वच्छ खानेपानी, सरसफाइका सामग्री, स्वास्थ्य सेवा र अन्य आधारभूत मानवीय आवश्यकता पूरा गर्नु तत्कालको मुख्य चुनौती बनेको छ । बाढी प्रभावित क्षेत्रमा रोगको जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य तथा सरसफाइसम्बन्धी कार्यक्रमलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।



nationalnews7 nationalnews7   
  • September 6, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP