Dark Mode

      Subscribe

मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

143
SHARES
मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

मुस्ताङ । अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पुर्याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

जोमसोम-कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पाण्डा खोला नजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार जोमसोमदेखि दुई किलोमिटरमाथिको कालोपत्र सडक भाँसिएर सडक जोखिम बढेको जानकारी दिए । निरन्तरको वर्षाले जोमसोमदेखि केहीमाथि करिब २५ मिटर सडक भासिन पुगेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।

बिहीबार साँझ पाण्डा खोलाको बाढीले सडक संरचनामा क्षति पुर्याएको छ । यद्यपि सुरक्षा नियकायले हाललाई कामचलाउ रुपमा भए पनि यातायात सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

जोमसोम-कागबेनी सडकखण्डको चार स्थानमा सडक माथिबाट पहिरो खस्नेक्रम जारी रहेकाले जोमसोमदेखि कागबेनी जाने मुक्तिनाथ दर्शनार्थीलाई जोमसोममै रोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी भुसालले वर्षा रोकिएमा सडकको अवस्था हेरेर मात्रै सडक माथि जान दिइने बताए । यसैगरी जोमसोम-कागबेनी सडकमा पहिरो खस्दा एक सार्वजनिक भाडाको ट्याक्सीमा क्षति पुगेको छ भने पहिरो गएको स्थानमा एक भारतीय कार फसेर बसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । पहिरोका कारण फसेको भारतीय गाडीलाई निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ ।

अवरुद्ध जोमसोम-कागबेनी सडकको आज बिहान प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी र प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामालगायतका सुरक्षाकर्मीले अवलोकन गरेका छन् । जोमसोम-कागबेनी भासिएको सडक मर्मत गरी सञ्चालनमा ल्याउन दुई/तीन दिन लाग्नसक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।



nationalnews7 nationalnews7   
  • October 31, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP