Dark Mode

      Subscribe

एचपीभी खोप अभियानमा अहिलेसम्म ११ लाखभन्दा धेरै किशोरी सहभागी

1K
SHARES
एचपीभी खोप अभियानमा अहिलेसम्म ११ लाखभन्दा धेरै किशोरी सहभागी

काठमाण्डौ । माघ २२ गतेदेखि शुरू भएको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा अहिलेसम्म ११ लाखभन्दा धेरै किशोरी सहभागी भएका छन् । अभियान शुरू भएको ९ औं दिन अर्थात माघ मसान्तसम्म ११ लाख ६१ हजारभन्दा धेरै किशोरीले खोप लगाएका स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा २ लाख २४ हजार ७०२ जनाले खोप लगाएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा ८७ हजार ९०४ जना किशोरीले खोप लगाएका छन् । यस्तै, मधेस प्रदेशमा १ लाख ८१ हजार ४८९, गण्डकीमा ९८ हजार १७३, लुम्बिनीमा २ लाख १० हजार ८६ र सुदूरपश्चिम प्रदेशमा १ लाख ४० हजार ४३७ जना किशोरीले खोप लगाएका महाशाखाले जनाएको छ ।

आउँदो मङ्गलवारसम्म चल्ने अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिने सरकारको लक्ष्य छ । परिवार कल्याण महाशाखाका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो अभियान भइरहेको हो । नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ ।

 



nationalnews7 nationalnews7   
  • February 14, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP