Dark Mode

      Subscribe

‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको पूर्व राष्ट्रपति भण्डारीले गरिन् प्रशंसा

1.2K
SHARES
‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको पूर्व राष्ट्रपति भण्डारीले गरिन् प्रशंसा

काठमाडौं । नेकपा एमालेको राजनीतिमा पुनः जोडिएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको प्रशंसा गरेकी छन् । शनिवार आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले जननेता स्वर्गीय मदन भण्डारीको सहयोद्धाका रूपमा मदन भण्डारी फाउन्डेसनका लागि गरेको योगदानको सराहना समेत गरिन् ।

भण्डारीले भनिन्–यस संस्थालाई एउटा प्रतिष्ठित सामाजिक संस्थाको रूपमा र पवित्र उद्देश्य लिएको अविचलित अभियानकर्ताका रूपमा विकास गराउन महत्त्वपूर्ण भूमिका खेल्नुहुने जननेता मदन भण्डारीका सहयोद्धा श्री केपी शर्मा ओलीसहित नेकपा एमालेका नेता तथा कार्यकर्ताको योगदानको म सराहना गर्दछु ।

यसैबीच पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी छन् । मदन जयन्तीका अवसरमा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गरेकी हुन् । उनले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन ।’

उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताइन् । उनले भनिन्, ‘जननेताले भन्ने गर्नुहुन्थ्यो( जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो( राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु ।’

राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका बुझाएका छन् र थप परिपक्व समेत बनाएको बताइन्।पूर्वराष्ट्रपति भण्डारीले थपिन्, ‘मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदा झैं सबैको सधैँभरि माया र विश्वास पाइरहुँ ।’

भण्डारीले एमालेमा पुनः जोडिएको घोषणा गर्दा सभागृहको हलमा ताली गुन्जिएको थियो ।जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको उनले बताइन् ।

मदनपत्नी विद्याले भनिन्, ‘यस्तो महत्वपूर्ण दायित्व पूरा गर्न नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित नेकपा एमाले सक्षम हुनेछ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामु एक समुन्नत राष्ट्रको रूपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वाससमेत लिएको छु ।

पूर्वराष्ट्रपति भण्डारीले जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएकाले त्यसका लागि आफू अग्रसर भएको बताइन् । उनले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने आफूलाई लागेको र यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर रहेको भनाइ राखिन् ।

पूर्वराष्ट्रपति भण्डारीले फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको स्पष्ट पारिन् । अब आफू नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको उनकोभनाइ छ ।
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको र देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको जनाइन् । राजनीतिमा थकाइ भन्ने शब्दावली नरहने बताउँदै उनले समयलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्ने स्पष्ट पारिन् ।



nationalnews7 nationalnews7   
  • June 28, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP