Dark Mode

      Subscribe

सरकारी टोली चीन जाने तयारीमा, दैलेखको ग्यास भण्डार रिपोर्टलाई अन्तिम रुप दिने

494
SHARES
सरकारी टोली चीन जाने तयारीमा, दैलेखको ग्यास भण्डार रिपोर्टलाई अन्तिम रुप दिने

काठमाडौं । दैलेखको जलजलेमा भेटिएको मिथेन ग्याँसको भण्डारका विषयमा छलफल गर्न सरकारी टोली चीन जाने तयारीमा छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक दिनेश कुमार नापितको नेतृत्वको टोली ग्याँस उत्खननको विस्तृत प्रतिवेदनलाई अन्तिम रुप दिने विषयमा छलफल गर्न चीन जान लागेको हो ।

चीनको छेन्दुस्थित चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङबाट दैलेखको जलजलेमा मिथेन ग्याँसको भण्डार रहेको पुष्टि भएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरुले ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको र त्यसले नेपालमा ५० वर्षको माग धान्ने अनुमान गरिएको बताएका थिए ।

तर, अन्वेषणको अन्तिम प्रतिवेदन चीनले अझै दिएको छैन । मन्त्रालयका अनुसार चिनियाँ टोलीले आगामी डिसेम्बरमा प्रतिवेदन दिने जनाएको छ । सोही प्रतिवेदनलाई अन्तिम रुप दिन खानी तथा भूगर्भ विभागका महानिर्देशक नापितको नेतृत्वमा पेट्रोलियम अन्वेषण परियोजनाका कर्मचारीसहितको टोली चीन जान लागेको हो ।

‘चीनले दिने रिपोर्टमा हामीले रिभ्यू गरिदिनुपर्ने हुन्छ । त्यसका लागि चीनले कन्फ्रेन्स आयोजना गरेको छ । त्यसमा सहभागी हुन विभागको टोली चीन जान लागेको हो,’ खानी विभाग स्रोतले भन्यो, ‘हाम्रो रिभ्यूपछि चीनले डिसेम्बरमा अन्तिम रिपोर्ट दिने जनाएको छ ।’

दैलेखको जलजलेमा २०८० वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर अध्ययन थालिएको थियो । त्यसका लागि ४ हजार मिटर गहिराइसम्म खनेर ग्याँसको भण्डार फेला पारिएको थियो । थप परीक्षणका लागि नमूना संकलन गरी चीन लगिएको थियो । चिनियाँ टोलीले अन्वेषण रिपोर्टबाट ग्याँसको गुणस्तर, त्यसको प्रशोधनसहित उत्पादन लागतका साथै व्यापारिक दृष्टिकोणले उपयुक्त छ कि छैन भन्ने पत्ता लाग्ने अधिकारीहरु बताउँछन् ।

 



nationalnews7 nationalnews7   
  • October 20, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP