Dark Mode

      Subscribe

एसियाली अर्थतन्त्रको तीव्र विस्तार,विश्वमा प्रभाव बढ्दो : प्रतिवेदन

0
SHARES
एसियाली अर्थतन्त्रको तीव्र विस्तार,विश्वमा प्रभाव बढ्दो : प्रतिवेदन

काठमाडाैं । एसियाली अर्थतन्त्रको तीव्र विस्तारले विश्वमा प्रभाव बढिरहेको एक नयाँ प्रतिवेदनले देखाएको छ । मङ्गलवार सार्वजनिक भएको ‘एशियाली आर्थिक दृष्टिकोण तथा एकीकरण प्रगति वार्षिक प्रतिवेदन २०२६’ अनुसार विश्व कुल गार्हस्थ उत्पादन (जीडीपी) मा एशियाको हिस्सा निरन्तर बढिरहेको छ ।

प्रतिवेदनले यस वर्ष एशियाली अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यस्तै विश्व अर्थतन्त्रमा एशियाको हिस्सा २०२५ को ४९.२ प्रतिशतबाट बढेर ४९.७ प्रतिशत पुग्ने अनुमान छ । एशियाका लागि बोआओ फोरम (बीएफए) संस्थाका महासचिव झाङ जुनले ‘एशियाली शताब्दी’ शुरू भइसकेको धारणा बलियो बन्दै गएको बताउनुभएको छ । उहाँले चुनौतीहरू भए पनि एशियाली अर्थतन्त्र लचिलो र सकारात्मक दिशामा रहेको उल्लेख गर्नुभयो ।

यस वर्षको बीएफए सम्मेलन हिजाेदेखि दक्षिण चीनको हेनान प्रान्तको किओन्घाई शहरमा आयाेजना भइरहेकाे छ । ‘साझा भविष्य निर्माण : नयाँ गतिशीलता, नयाँ अवसर, नयाँ सहकार्य’ नारासहित आयोजना भइरहेको सम्मेलन पर्सिसम्म चल्नेछ ।

प्रतिवेदनअनुसार विदेशी लगानीका लागि एशिया अझै पनि प्रमुख गन्तव्य बनेको छ जहाँ चीन र दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको समूह सबैभन्दा आकर्षक केन्द्रका रूपमा देखिएका छन् । प्रविधि क्षेत्रमा पनि एशिया तीव्ररूपमा अगाडि बढिरहेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) विकासको केन्द्र क्रमशः युरोप र अमेरिकाबाट एशियातर्फ सर्दै गएको छ । ठूलो डिजिटल जनसङ्ख्या, विविध प्रयोग प्रणाली र स्पष्ट नीतिका कारण एशियाली देशहरू यस क्षेत्रमा अग्रणी बन्दै गएका प्रतिवेदनमा उल्लेख छ ।

साथै दिगो विकासतर्फ एशिया महत्त्वपूर्ण शक्तिका रूपमा उदाउँदै गएको छ । परम्परागत ऊर्जाको ठूलो उपभोक्ता रहँदै आएको एशिया अहिले स्वच्छ तथा हरित ऊर्जाको विकासमा अग्रणी बन्दै गएको प्रतिवेदनले जनाएको छ ।

क्षेत्रीय व्यापारमा पनि सुधार देखिएको छ । एशियाभित्रकै व्यापार निर्भरता २०२३ मा ५६.३ प्रतिशतबाट बढेर २०२४ मा ५७.२ प्रतिशत पुगेको छ जसले क्षेत्रीय आर्थिक एकीकरण बलियो बन्दै गएको सङ्केत गर्छ । विशेषज्ञहरूकाअनुसार एशिया विश्व सेवा व्यापारको मुख्य चालक बन्ने दिशामा अघि बढिरहेको छ । डिजिटल पूर्वाधारमा लगानी, ठूलो बजारको माग र क्षेत्रीय सहकार्यले यो परिवर्तनलाई गति दिएको हो ।



nationalnews7 nationalnews7   
  • March 25, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP