Dark Mode

      Subscribe

इटहरीमा ‘सीप तथा रोजगार मेला’, विषयगत क्षेत्रहरूमा ५ दिने व्यावहारिक तालिम

195
SHARES
इटहरीमा ‘सीप तथा रोजगार मेला’, विषयगत क्षेत्रहरूमा ५ दिने व्यावहारिक तालिम

सुनसरी। सरकारले युवाहरूलाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरहरूसँग जोड्ने प्रमुख उद्देश्यका साथ सुनसरीको इटहरीमा  ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु हुन लागेको यो मेला यही असोज २० गतेसम्म निरन्तर सञ्चालन हुनेछ। यस मेलाको भव्य उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका छन् । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्थानीय सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा परम्परागत नौमती बाजाको आकर्षक प्रस्तुति रहेको थियो ।

उद्घाटन समारोहलगत्तै युवाहरूलाई उद्यमशीलताप्रति आकर्षित गर्ने लक्ष्यका साथ ‘आजको युवा, भोलिको उद्यमी: सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफल कार्यक्रम सञ्चालन गरिनेछ। यस मेलाको मुख्य उद्देश्य युवाहरूको क्षमता तथा सीप पहिचान गरी उनीहरूलाई रोजगारदाता र विभिन्न तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ।

कार्यक्रमको पहिलो दिन आजै दिउँसो १२:०० बजेदेखि ५:०० बजेसम्म तालिमका सहभागीहरूको छनोट, प्रशिक्षार्थीहरूको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायक संस्थाहरूको परिचय तथा आवश्यक सूचना र परामर्श सेवाहरू सञ्चालन गरिएका छन् ।

त्यस्तै, भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रहरूमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्। मेला अवधिभर विभिन्न प्रदर्शनी स्टलहरू, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलानका साथै उद्यमशीलतासँग सम्बन्धित छलफलहरू निरन्तर रूपमा जारी रहनेछन्।



nationalnews7 nationalnews7   
  • September 30, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP