Dark Mode

      Subscribe

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय फर्निचर एक्स्पो, सयभन्दा बढी कम्पनीका ब्राण्डहरू प्रदर्शनीमा

1.1K
SHARES
भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय फर्निचर एक्स्पो, सयभन्दा बढी कम्पनीका ब्राण्डहरू प्रदर्शनीमा

काठमाडौँ : नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण शुक्रबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत मुलुकका काठजन्य सामग्री उत्पादक क्षेत्रका एक सयभन्दा बढी कम्पनीका विभिन्न ब्राण्डहरू प्रदर्शनीमा राखिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रदर्शनीको उद्घाटन गर्दै मुलुकमा उद्योग स्थापना हुन नसक्दा स्वरोजगारका लागि प्रदान गरिएका तालिममा गरिएको लगानीबाट लाभ लिन नसकिएको बताउनुभयो । उहाँले सरकारले विभिन्न प्राविधिक तालिम प्रदान गरे पनि तत्काल रोजगारी प्राप्त गर्न नसक्दा लगानीको लक्ष्य र प्रतिफल प्राप्त गर्न नसकिरहेको अवस्थामा काठजन्य उद्योगले त्यस्ता जनशक्तिको सदुपयोग गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

मन्त्री भण्डारीले भन्नुभयो, “सीप प्राप्त जनशक्तिलाई साना उद्योग खोल्न सरकार, निजीक्षेत्र र बैंकलगायत वित्तीय संस्थाले सहयोग गर्नुपर्छ । उद्योग क्षेत्रमा नयाँ प्रविधि र उपकरण भित्र्याउन सातै प्रदेशको सदरमुकाममा यस्ता प्रदर्शनी आयोजना गरिनुपर्छ, जसबाट स्वरोजगार हुन सहयोग पुर्‍याउँछ ।”

विदेशमा प्रयोग भएका नवीनतम प्रविधि नेपाल भित्र्याउने, उद्योग व्यवस्थापन गर्ने र नेपालका कच्चापदार्थको प्रयोग गरी उत्पादन गरिएका वस्तुहरू विदेश निर्यातका लागि सहजीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ । “विदेशी कम्पनीले काठजन्य सामग्री उत्पादनमा प्रयोगमा ल्याएका नवीनतम प्रयोगबारे एकै थलोबाट नेपाली उद्यमीले जानकारी प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको छ । यसले हाम्रा उत्पादनको बजार प्रवर्द्धनमा समेत टेवा पुग्नेछ”, मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक सृजल भट्टराईले भन्नुभयो,“हाम्रो अर्थतन्त्र उत्साहजनक ढङ्गले अघि बढ्न नसकिरहेको परिस्थितिमा नेपाली उद्योगलाई कसरी माथि लैजान सकिन्छ भनी जानकारी दिने प्रदर्शनी सफल हुने अपेक्षा गरिएको छ ।”

प्रदर्शनीमा काठजन्य उत्पादन प्लाइउडदेखि घर, होटल, रेष्टुरेन्ट र महलका ढोका, झ्याल, भ¥याङ तथा अन्य फर्निचर र सजावटका सामग्री उत्पादन कम्पनीका एक सयभन्दा बढी कक्ष छन् । प्रविधि हस्तान्तरणसहितको लक्ष्य लिइ आयोजना गरिएको प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । तीनदिने प्रदर्शनीमा करिब ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रदर्शनीमा ‘एआई’का माध्यमबाट घरभित्रको साजसज्जा कसरी गर्ने तथा साँघुरो ठाउँमा अन्तरिक सजावट गर्न सकिने विभिन्न उपायबारे जानकारी प्राप्त हुनेछ । प्रदर्शनीका क्रममा माघ ५ र ६ गते सरोकार भएकाहरूबीच फर्निचर क्षेत्रबारेमा जानकारी गराउन कार्यशालासमेत गरिने जनाइएको छ ।



nationalnews7 nationalnews7   
  • January 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP