Dark Mode

      Subscribe

सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस

221
SHARES
सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस

काठमाडौँ, असार १९ गते । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी रहनुभएको छ । भण्डारी अर्को साता ६५ वर्षे उमेरहदका कारण अवकाश पाउन लाग्नुभएकाले परिषद्ले नयाँ नेतृत्व सिफारिस गरेको हो । ‘नबिराउनू, नडराउनू’ को सिद्धान्त बोकेका कार्की न्याय प्रशासनमा निडर र हक्की स्वभावले परिचित हुनुहुन्छ ।

बैठकले रिक्त निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्लेको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै परिषद्की सदस्य एवं प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुरले रिक्त पदमा नियुक्तिका लागि सिफारिस गरिएको बताउनुभयो ।

प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार साँझका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको थियो । संवैधानिक परिषद्‍मा प्रधानमन्त्री शाह, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख , प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुने संवैधानिक प्रावधान छ ।

संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । परिषद्‍बाट सिफारिस भएका नाम संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान रहेको छ ।

संयोगले संखुवासभाले लगातार दोस्रो प्रमुख निर्वाचन आयुक्त पाएको छ। कार्की संखुवासभाको माम्लिङमा जन्मिनु भएको हो। पुर्खौली घर संखुवासभा भए पनि कार्कीको परिवार हाल मोरङ जिल्लाको रतुवामाई (साबिकको इटहरा गाविस) गाउँपालिका तथा विराटनगर उपमहानगरपालिकामा बसोबास गर्दै आएको छ। यसअघिका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया पनि संखुवासभाकै हुनुहुन्थ्यो। थपिलयाले प्रमुख निर्वाचन आयुक्तको आफ्नो ६ वर्षे कार्यकाल २०८२ बैशाख ५ गते पूरा गरी अवकास पाउनु भएको थियो ।



nationalnews7 nationalnews7   
  • July 3, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP