Dark Mode

      Subscribe

भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन

130
SHARES
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको छ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सबै विश्वविद्यालयका उपकुलपतिहरूलाई पत्र काटेर परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्। मन्त्रालयका अनुसार स्थगित परीक्षाहरूको संशोधित तालिका परिस्थितिको मूल्याङ्कन गरी उपयुक्त समयमा सार्वजनिक गरिनेछ।

त्यस्तै, भदौ १२ गते सञ्चालित परीक्षामा विपद्का कारण सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि पनि पुनः परीक्षाको व्यवस्था मिलाउन विश्वविद्यालयहरूलाई भनिएको छ। परीक्षाबाहेक अत्यावश्यक नभएका भेला, गोष्ठी, सेमिनार, सभा तथा सामूहिक कार्यक्रमहरूसमेत हाललाई स्थगित गर्न मन्त्री पोखरेलले अनुरोध गरेका छन्।

सरकारले विपद् प्रभावित विद्यार्थी तथा अभिभावकहरूसँग विश्वविद्यालय र शैक्षिक संस्थामार्फत निरन्तर समन्वय गरी आवश्यक सहयोग पुर्‍याउन निर्देशन दिएको छ। विपद्का कारण परेको असरलाई सम्बोधन गर्न प्रभावित विद्यार्थी र तिनका अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न तथा अध्ययनको निरन्तरताका लागि सहजीकरण गर्न पनि भनिएको छ।

वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र कर्मचारीको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर यी निर्णयहरू तत्काल कार्यान्वयन गर्न मन्त्री पोखरेलले पदाधिकारीहरूसँग आग्रह गरेका छन्।



nationalnews7 nationalnews7   
  • August 28, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP