Dark Mode

      Subscribe

वीपी राजमार्ग पुनर्निर्माण समयमै सक्न पूर्वाधार सचिवको निर्देशन

156
SHARES
वीपी राजमार्ग पुनर्निर्माण समयमै सक्न पूर्वाधार सचिवको निर्देशन

काठमाडौँ । आठ महिनाअघि बाढीले क्षति पुर्‍याएको विपी राजमार्गको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल र नेपालका लागि जापानका राजदूत माएदा तोरुले दुई दिनअघि शिलान्यास गरेको सडक पुनर्निर्माणको कामले गति लिएको हो । उक्त राजमार्गको पुनर्निर्माण जापान सरकारको सहयोगमा भइरहेको छ ।

गत वर्षको बाढीपहिरोले विपी राजमार्गको करिब ३० किलोमिटर सडकखण्डमा क्षति पुर्‍याएको थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तरोन्नतिसहित पुनर्निर्माण गरिँदै छ ।

जापान सरकारको २ अर्ब ८० करोड येन अनुदान सहयोगमा पिप्ले–बर्खे खोला खण्डको ३.२ किलोमिटर सडक सिमिजु कर्पोरेसनले निर्माण गर्ने सहमति भइसकेको छ । त्यस्तै नेपाल सरकारको लगानीमा अन्य तीन खण्डका लागि ८ अर्ब ५० करोड रुपियाँको स्रोत सुनिश्चित भइसकेको छ ।

यस अन्तर्गत काभ्रेपलाञ्चोकतर्फका तीन खण्ड र सिन्धुलीको एक खण्डमा ठेक्का प्रक्रिया पूरा भएर निर्माण कार्य भइरहेको छ । पुनर्निर्माणपछि राजमार्ग दुई लेनको बनाइने छ । साथै पाँच वटा पुललाई पनि दुई लेनमा विस्तार गरिने छ ।

बाढीबाट पुनः क्षति नहोस् भनेर आरसिसी पर्खाल, प्लम पर्खाल निर्माण तथा सडक चौडा गर्ने कामलाई प्राथमिकता दिइएको छ । आगामी वर्षभित्र कालोपत्रसहित सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

वि.सं. २०५३ मा जापान सरकारकै सहयोगमा निर्माण सुरु भएको विपी राजमार्ग २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । पुनर्निर्माण भइरहेको राजमार्गको पूर्वाधार विकास सचिव सिग्देलले अनुगमनसमेत गर्नुभएको छ । उहाँले निर्माण व्यवसायीलाई काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।



nationalnews7 nationalnews7   
  • May 28, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP