Dark Mode

      Subscribe

अनिवार्य नगद मौज्दातको सिमा ९० प्रतिशत

572
SHARES
अनिवार्य नगद मौज्दातको सिमा ९० प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ परिपत्र जारी गर्दै अनिवार्य नगद मौज्दात ९० प्रतिशत कायम गर्न निर्देशन दिएको छ ।

बुधबार वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनी समेतको नाउँमा परिपत्र जारी गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । राष्ट्र बैंकका अनुसार यो निर्देशन यही जेठ १८ गतेबाट कार्यान्वयनमा आउने छ ।

बैंक तथा वित्तीय संस्थाले २०७९ साल भदौ १२ गतेदेखि कुल निक्षेप दायित्वको ४ (चार) प्रतिशत अनिवार्य नगद मौज्दातबापत बैंकमा राख्नु पर्ने व्यवस्था गरिएको थियो । यस व्यवस्थाबमोजिम कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ७० प्रतिशत रकम दैनिक रूपमा राख्दै आएका थिए । तर, चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षा मार्फत राष्ट्र बैंकले अनिवार्य नगद मौज्दातको सीमा बढाएको हो ।

‘यस बैंकबाट इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाले कुल निक्षेप दायित्वको ४ (चार) प्रतिशत अनिवार्य नगद मौज्दातबापत यस बैंकमा राख्नु पर्नेछ । यस व्यवस्थाबमोजिम कायम गर्नु पर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम मिति २०८२/०२/१८ देखि दैनिक रूपमा यस बैंकमा राख्नु पर्नेछ’, राष्ट्र बैंकले नयाँ निर्देशनमा उल्लेख गरेको छ ।

अनिवार्य मौज्दात गणना सम्बन्धी प्रयोजनका लागि विभिन्न प्रक्रिया अपनाउनु पर्छ । जसमा अनिवार्य मौज्दातको गणना साप्ताहिक औसत निक्षेप मौज्दातका आधारमा गरिन्छ । यस समयावधि पछि एक हप्ता अन्तराल कायम गरी तत्पश्चात्को दुई हप्ता (आइतबारदेखि १४औँ दिनको शनिवार) मा कायम गरिने औसत नगद मौज्दातलाई लिइन्छ ।

अनिवार्य मौज्दात गणना गर्ने प्रयोजनको लागि कुल निक्षेप दायित्वका हकमा साप्ताहिकरुपमा आइतबारदेखि शनिबारसम्मको कुल निक्षेपको योगलाई सात अङ्कले भाग गरी दैनिक औसत निर्धारण गर्नुपर्छ । राष्ट्र बैंक मौज्दातको गणना गर्दा आइतबारदेखि १४औँ दिनको शनिवारसम्मको दैनिक मौज्दातको कुल योगलाई चौध अङ्कले भाग गरी दैनिक औसत निर्धारण गरिन्छ ।

यस निर्देशन बमोजिम कायम गर्नुपर्ने अनिवार्य मौज्दातको कम्तीमा ९० प्रतिशत मौज्दात दैनिक रूपमा कायम गर्नुपर्ने नयाँ व्यवस्थामा उल्लेख छ ।



nationalnews7 nationalnews7   
  • May 28, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP