Dark Mode

      Subscribe

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

975
SHARES
कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

काठमाडौं । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा ३४ करोड रुपैयाँभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ३४ करोड ४५ लाख ८५ हजार रुपैयाँ बराबरको अन्न बालीमा क्षति पुगेको हो ।

 

वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइ भएकोे थियो, जसमध्ये पाँच हजार सात सय २२.७८ हेक्टर जमिनमा रु १७ करोड ६१ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी प्रदेशकी प्रमुख डा दीपा दियालीले बताए । प्रदेशमा सबैभन्दा धेरै खोटाङमा तीन हजार सात सय ३९.३ हेक्टर धान बालीमा क्षति पुगेको उनले जानकारी दिए ।

 

यसैगरी सुनसरीमा आठ सय २४ हेक्टर, उदयपुरमा तीन सय ९८.७८ हेक्टर, झपामा दुई सय ८७ हेक्टर, मोरङमा दुई सय ४४ हेक्टर, भोजपुरमा एक सय १३ हेक्टर, तेह्रथुममा ३४.७५ हेक्टर र सोलुखुम्बुमा ११ दशमलव दुई हेक्टर जमिनमा क्षति पुगेको उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशले जनाएको छ ।

 

तरकारीतर्फ चार सय १४.८० हेक्टर जमिनमा ११ करोड १८ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आठ सय ७९.७५ हेक्टर जमिनमा लगाइएको एक करोड ६२ लाख चार हजार, दुई हजार तीन सय ५७.५० रुपैयाँ हेक्टर जमिनमा लगाइएको कोदो तीन करोड ७१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी १० दशमलव ५० हेक्टर जमिनमा २७ लाख ७३ हजार रुपैयाँ बराबरको फलफूल र ५८ दशमलव ६० हेक्टर जमिनमा ४८ लाख १२ हजार रुपैयाँ बराबरको दलहन बालीमा क्षति भएको मन्त्रालयले जनाएको छ ।

 

हरिनगरमा मात्रै २४ करोड २७ लाखको क्षति

यस्तै सुनसरीको हरिनगर गाउँपालिकामा मात्रै २४ करोड २७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

 

बाढीले हरिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा गरेर सो परिमाणमा क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले जनाएको छ । गाउँपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषिलगायत गरेर २४ करोड २७ लाख रुपैयाँ बराबरको क्षति भएको हो । हरिनगरमा बाढीले सातवटा विद्यालयमा आंशिक क्षति हुँदा एक करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

 

यसैगरी छवटा पुल तथा सडक आंशिक रूपमा क्षति हुँदा दुई करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिए यसैगरी नौ सय बिघा अन्न बाली पूर्ण रूपले र एक हजार छ बिघामा लगाइएको अन्नबाली आंशिक रूपले क्षति हुँदा १० करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

यसैगरी ४० बिघा जमिन पूर्ण रूपले र ५५ बिघा जमिन आंशिक रूपले क्षति हुँदा १० करोड रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी तीनवटा हेल्थ पोष्टमा रु २० लाखभन्दा बढीको क्षति भएको छ ।

 

बाढीका कारण क्षति भएका भौतिक संरचनाको मर्मतसम्भार कार्य प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।



nationalnews7 nationalnews7   
  • October 17, 2024
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP