Dark Mode

      Subscribe

देशलाई बलियो राजनीतिक दल आवश्यक छ : महासचिव पोखरेल

936
SHARES
देशलाई बलियो राजनीतिक दल आवश्यक छ : महासचिव पोखरेल

काठमाडौँ, ४ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक रहेको बताउनुभएको छ । आज समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीलाई प्रेस चौतारी नेपालमा प्रवेश गराउँदै बलियो राजनीतिक दल र शक्तिले मात्र मुलुकको विकास गर्ने बताउनुभयो ।

महासचिव पोखरेलले जथाभावी पार्टी खोल्न ‘एजेण्डा’ ले नदिने भन्दै जनताले सोही आधारमा दललाई छान्ने बताउनुभयो । उहाँले एमालेका लागि समाजवाद मुख्य विषय रहेको र समाजवाद प्राप्त गर्ने विधि लोकतन्त्र भएको स्पष्ट पार्नुभयो । उहाँले सबै कम्युनिष्ट पार्टीको लक्ष्य समाजवाद रहेकाले एमालेमा आउन आग्रह गर्नुभयो ।

“एमालेको लक्ष्य समाजवादमा पुग्ने हो, कम्युनिष्टको अनेक पसल खोलेर समाजवादमा पुग्न सम्भव छैन, सबै कम्युनिष्ट शक्ति एमालेमा आएर समाजवादको बाटो तय गर्नमा सहयोग गर्नुपर्छ”, महासचिव पोखरेलले भन्नुभयो, “एमाले छाडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले)मा फर्किन म आह्वान गर्दछु ।”

महासचिव पोखरेलले मुलुकलाई कमजोर बनाउने मिसनका साथ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण भइरहेको भन्दै त्यसलाई प्रतिवाद गर्नुपर्ने बताउनुभयो । उहाँले अध्यादेश जारी गरे नेपाली कांग्रेस र एमालेबीच हिँड्ने बाटो तय गरेको बताउनुभयो । “पाँचवटा अध्यादेश जारी गरेर हामी दुईवटा पार्टी हिँड्ने बाटो स्पष्ट गरेका छौँ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले समाजवादको गन्तव्यमा पुग्न सबै कम्युनिष्ट एक ठाउँमा आउनुपर्ने बताउनुभयो । उहाँले प्रवेश गरेकालाई पार्टीमा उचित जिम्मेवार दिइने बताउनुभयो ।

विश्वमणि सुवेदीले सङ्गठनमा अभिव्यक्तिको स्वतन्त्रताको अनुभूति नभएपछि परित्याग गरेको बताउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारीलाई श्रमजीवीको सङ्गठन बनाउने बताउनुभयो । सो कार्यक्रममा समाजवादी प्रेस सङ्गठनका अध्यक्ष सुवेदीसहित महासचिव रामकुमार एलन, कोषाध्यक्ष कृपा भण्डारी, सचिव नेपोलियन चेपाङ, संस्थागत उपाध्यक्ष नरेन्द्र साउदलगायत प्रेस चौतारीमा प्रवेश गर्नुभएको थियो ।



nationalnews7 nationalnews7   
  • January 17, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP