Dark Mode

      Subscribe

‘महाकाली नदी किनारकाे बस्ती जोगाउन छिट्टै बाँध निर्माण’

546
SHARES
‘महाकाली नदी किनारकाे बस्ती जोगाउन छिट्टै बाँध निर्माण’

दोधारा चाँदनी (कञ्चनपुर) । गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्ती जोगाउन ठुलो वर्षा हुनुअघि नै बाँध निमार्ण गर्नेगरी नेपाली सेनालाई जिम्मा दिइएको बताउनुभएको छ । आज कञ्चनपुरको भीमदत्त नगरपालिका–१२, स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको अनुगमन गर्दै उहाँले बाढीका कारण वर्षौंदेखि नदी किनारका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सरकारले विशेष निर्णय गरेर सेनालाई जिम्मा दिएको बताउनुभयो ।

मन्त्री लेखकले भन्नुभयो, “महाकाली किनारका बस्ती वर्षौंदेखि बाढीको जोखिममा छन् । यसैकारण ती बस्ती जोगाउन गृह मन्त्रालयले सेनासँगको समन्वयमा काम अगाडि बढाएको हो । अब बजेट अभावले बाँध निमार्णकार्य रोकिँदैन, बस्ती जोगाउन सरकारले चाहिने जति बजेट व्यवस्थापन गर्छ ।”

गत वर्ष महाकालीको बाढीले दुई सय ६० मिटर बाँध भत्काएपछि महाकाली नदी बस्तीतर्फ सोझिएको थियो । यसले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती जोखिममा परेपछि सरकारले उक्त क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर काम अघि बढाएको हो ।

गृहमन्त्री लेखकले महाकाली नदीका कारण यहाँ बनेको चार लेन पुल र बस्ती नै जाखिममा परेपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको बाँध निर्माणको जिम्मा सेनालाई दिइएको बताउनुभयो । “सरकारले नदी नियन्त्रण तथा संरक्षणका लागि विशेष प्राथमिकताका साथ बाँध निर्माण गरिरहेको छ । अब स्थायी रूपमा समस्या समाधान हुने गरी काम हुन्छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री लेखकले निर्माण कार्यमा सङ्लग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो । यहाँ गत जेठ ६ गतेको निर्णयअनुसार सेनालाई एक महिनामा बाँध निर्माण गर्ने गरी जिम्मेवारी दिइएको थियो । रासस



nationalnews7 nationalnews7   
  • July 6, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP