Dark Mode

      Subscribe

नेपाल एसबीआई बैंक लुटपाट प्रकरण: घरधनीसहित सात पक्राउ, तीन मुख्य योजनाकार

299
SHARES
नेपाल एसबीआई बैंक लुटपाट प्रकरण: घरधनीसहित सात पक्राउ, तीन मुख्य योजनाकार

कमलामाई (सिन्धुली) — घ्याङ्लेख गाउँपालिका–२, हायुटारस्थित नेपाल एसबीआई बैंकमा भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा घरधनी छविलाल स्याङ्तानसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनासम्बन्धी विवरण सार्वजनिक गर्दै घरधनी स्याङ्तानलाई लुटपाटको मुख्य योजनाकारको रूपमा पहिचान गरेको जनाएको छ। बैंकमा गत पुस २९ गते राति लुटपाट भएको थियो।

प्रहरीको अनुसन्धानअनुसार बैंक शाखा सञ्चालन भइरहेको घरका धनी स्याङ्तानकै योजनामा लुटपाट भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेको बनेपा नगरपालिका–१० का ४९ वर्षीय सवारी चालक भागवतसिंह थापा, घ्याङ्लेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर महानगरपालिका–२ का २४ वर्षीय सशाङ्क श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, घ्याङ्लेख गाउँपालिका–२ कै ४४ वर्षीय छविलाल स्याङ्तान तथा एक १६ वर्षीय बालक रहेका छन्। पक्राउ परेकाहरूलाई सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक सुवेदीका अनुसार बैंक लुटपाटमा तीन जना मुख्य योजनाकार देखिएका छन्। “घरधनी छविलाल स्याङ्तान र उनका जेठान चतुरमान बज्युलाई पक्राउ गरिएको छ भने अर्का एक जना अभियुक्त फरार छन्,” उनले बताए। प्रहरीका अनुसार बैंकबाट लुटिएको रकममध्ये दुई करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ नगद बरामद गरिएको छ।

अनुसन्धानका क्रममा लुटेराहरूले प्रयोग गरेको पेस्तोल नक्कली रहेको खुलेको छ। प्रहरीका अनुसार सुरक्षा गार्डसहित बैंकका कर्मचारीलाई नक्कली प्लास्टिकको पेस्तोल र खुकुरी देखाएर धम्क्याई लुटपाट गरिएको थियो। घटनामा प्रयोग भएका दुई थान खुकुरी, एक थान प्लास्टिकको पेस्तोल, पाँच थान मोबाइल फोन, ठूलो पानी टेप, तीन थान कालो नकाव, एक थान रातो नकाव र एक जोर कालो पञ्जा समेत प्रहरीले बरामद गरेको छ।

प्रहरीको अनुसन्धानले घरधनी स्याङ्तानले लुटेराहरूका लागि हतियार व्यवस्थापन गर्नुका साथै सूचना आदान–प्रदानमा समेत संलग्न रहेको देखाएको छ। प्रहरीका अनुसार बज्यु, उनका ज्वाइँ स्याङ्तान र अर्का फरार अभियुक्तले २०८२ असोजदेखि नै बैंक लुट्ने योजना बनाउँदै पटक–पटक प्रयास गरेका थिए।

पहिलोपटक पुस २३ गते बैंक लुट्ने योजना बनाइएको र त्यस दिन काठमाडौँबाट चार जना अभियुक्त दुईवटा मोटरसाइकलमा सिन्धुली आए पनि परिस्थिति अनुकूल नभएपछि फर्किएको प्रहरीले जनाएको छ। पुस २८ गते पनि काठमाडौँको कोटेश्वरमा जम्मा भए तापनि ढिलाइका कारण योजना कार्यान्वयन हुन सकेन। अन्ततः पुस २९ गते उनीहरू पुनः कोटेश्वरमा भेला भई सार्वजनिक यातायातमार्फत बनेपा पुगेका र त्यहाँबाट बा १ ज ०३९८ नम्बरको टाटा सुमो रिजर्भ गरी घ्याङ्लेख पुगेको अनुसन्धानमा खुलेको छ।

पुस २९ गते साँझ लुटेराहरूले बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड रुद्रबहादुर कार्की तथा अन्य कर्मचारीलाई नियन्त्रणमा लिएका थिए। शाखा प्रमुखलाई नक्कली पेस्तोल देखाई भल्ट खोल्न लगाएर बैंकमा रहेको नगद बोरा र झोलामा हालेर फरार भएको प्रहरीले जनाएको छ। लुटेराहरू भाग्ने क्रममा प्रहरी र स्थानीयको सक्रियतामा अभियुक्तहरू पक्राउ पर्नुका साथै नगद र अन्य प्रमाण बरामद गर्न सफल भएको प्रहरीको भनाइ छ। पक्राउ परेकाहरूविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार बैंकबाट करिब तीन करोड सात लाख रुपैयाँ लुटपाट भएको थियो।



nationalnews7 nationalnews7   
  • January 16, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP