Dark Mode

      Subscribe

बढ्दैछ वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या, ६ महिनामा बाहिरिए ६ लाख

273
SHARES
बढ्दैछ वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या, ६ महिनामा बाहिरिए ६ लाख

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ५ लाख ९० हजार ७ सय १८ पुगेको छ। वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म ५ लाख १४ हजार ३ सय ५० पुरुष र ७६ हजार ३ सय ६८ महिलाले श्रम स्वीकृति लिएका छन्। यस अवधिमा १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका हुन्।

पछिल्लो छ महिनाको तथ्यांक हेर्दा औसतमा प्रतिमहिना करिब ९८ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्। पुस महिनामा मात्रै ६२ हजार ५ सय ५९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्, जसमा ५५ हजार ५ सय ४१ पुरुष र ७ हजार १८ महिला रहेका छन्।

विभागका अनुसार म्यानपावर कम्पनीमार्फत ३ लाख २५ हजार ४ सय ७ जना र व्यक्तिगत श्रम स्वीकृतिमार्फत ६४ हजार २ सय ६२ जना वैदेशिक रोजगारीमा गएका छन्। त्यस्तै, सरकार–देखि–सरकार (जी–टु–जी) प्रक्रियाबाट ४ हजार ८ सय ६६ जना इजरायल, कोरिया र बेलायत पुगेका छन्। सोही अवधिमा बिनाकागजात विदेशमा काम गरिरहेका १४१ नेपालीलाई वैधानिकीकरण गरिएको छ। इजरायलमा मात्रै छ महिनामा जी–टु–जीमार्फत ६०८ जना पुगेका छन्।

पुस महिनामा नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरब बनेको छ, जहाँ १३ हजार ३ सय २७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि कतारमा १२ हजार ४६, यूएईमा ९ हजार ५ सय १७, मलेसियामा ८ हजार ५ सय ३२ र कुवेतमा ४ हजार ३ सय ११ जना नेपाली पुगेका छन्।

खाडी मुलुकबाहेक युरोपेली देश रोमानियामा २ हजार ८ सय ६१ र क्रोएसियामा ९ सय ९ जना नेपाली पुगेका छन्। जापान, ओमान र बहराइनमा पनि नेपाली श्रमिकको उपस्थिति उल्लेख्य रहेको विभागले जनाएको छ।



nationalnews7 nationalnews7   
  • January 26, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP