Dark Mode

      Subscribe

आधारहीन, भ्रामक र झुटा औषधिजन्य विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

52
SHARES
आधारहीन, भ्रामक र झुटा औषधिजन्य विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डको निर्देशन

काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रसारण तथा प्रकाशन भइरहेका आधारहीन, भ्रामक र झुटा विज्ञापन तत्काल हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ। बोर्डले यस्ता विज्ञापन जारी राखे कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ। सामाजिक सञ्जालमा फैलिएका भ्रामक तथा झुटा विज्ञापनविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई निर्देशन दिएपछि बोर्डले सार्वजनिक सूचना जारी गरेको हो।

बोर्डले प्रचलित कानुनले निषेध गरेका तथा आवश्यक लेबलिङ, ब्रान्डिङ र आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएकोप्रति गम्भीर चासो व्यक्त गरेको छ। बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचारप्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग सम्बन्धित आधारभूत मापदण्ड उल्लंघन भएको विषयमा उजुरी प्राप्त भएका छन्।

बोर्डका अनुसार यस्ता विज्ञापनले उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै झुटा दाबीका आधारमा आर्थिक ठगीको जोखिम समेत बढाएको छ। विशेषगरी कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नसासम्बन्धी समस्या निको पार्ने, शरीरको बोसो घटाउने, किड्नी सफा गर्ने तथा शरीरका विषाक्त पदार्थ हटाउने दाबी गरिएका सामग्रीको प्रचार सामाजिक सञ्जालमा व्यापक रूपमा भइरहेको जनाइएको छ।

वैज्ञानिक प्रमाण, आधिकारिक स्वीकृति वा आवश्यक प्रमाणीकरणबिना आकर्षक प्रचार सामग्री तयार गरी सर्वसाधारणलाई भ्रमित बनाउने गतिविधि बढ्दै गएको बोर्डको भनाइ छ। विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ तथा अन्य प्रचलित कानुनविपरीत कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण नगर्न तथा नगराउन विज्ञापनदाता, विज्ञापन एजेन्सी, उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म सञ्चालक र सामाजिक सञ्जाल प्रयोगकर्तासहित सबै सरोकारवालालाई सचेत गराइएको छ।

बोर्डले कानुनविपरीतका विज्ञापनले उपभोक्ताको स्वास्थ्य, सुरक्षा र आर्थिक हितमा प्रतिकूल असर पार्ने भएकाले त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ। साथै चिकित्सकको सिफारिसमा मात्र बिक्री–वितरण गरिने औषधिको समेत सामाजिक सञ्जालमा भ्रामक विज्ञापन भइरहेको गुनासो प्राप्त भएको जनाएको छ।

आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधि वा सामग्रीको प्रचारप्रसारले भ्रम र अफवाह फैलाउने तथा सर्वसाधारणलाई गलत उपचारतर्फ आकर्षित गर्ने जोखिम बढाउने बोर्डको निष्कर्ष छ। यस्ता भ्रामक विज्ञापन देखिएमा तत्काल विज्ञापन बोर्डमा उजुरी गर्न आग्रह गर्दै प्राप्त उजुरीका आधारमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने बोर्डले जनाएको छ।



nationalnews7 nationalnews7   
  • June 18, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP