Dark Mode

      Subscribe

टुरिस्ट गाइड अझ ‘अपडेटेड’! भक्तपुरमा इतिहास, संस्कृति र सम्पदाबारे पुनर्ताजगी तालिम

182
SHARES
टुरिस्ट गाइड अझ ‘अपडेटेड’! भक्तपुरमा इतिहास, संस्कृति र सम्पदाबारे पुनर्ताजगी तालिम

भक्तपुर (केशव भोजपुरे )। भक्तपुरका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाबारे पर्यटक पथप्रदर्शक (टुरिस्ट गाइड) लाई थप तथ्यपरक र प्रामाणिक ज्ञान प्रदान गर्ने उद्देश्यले भक्तपुरमा एकदिने पुनर्ताजगी तालिम आयोजना गरिएको छ।

यही २०८३ साल असोज १५ गते बिहीबार ‘टुर गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)’  को आयोजनामा भएको तालिममा भक्तपुरको इतिहास, कला, संस्कृति, सम्पदा र मौलिक जीवनशैलीबारे गाइडहरूको ज्ञान अभिवृद्धि गर्न सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको हो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पर्यटन क्षेत्रले सोचिएभन्दा फरक र व्यापक परिणाम दिन सक्ने बताउँदै पर्यटनबाट माथिल्लो तहदेखि सर्वसाधारण जनतासम्म लाभ पुग्ने गरी योजना बनाउनुपर्नेमा जोड दिनुभयो।

भूकम्प, नाकाबन्दी, बाढीलगायतका समस्याले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्दै उहाँले पर्यटनलाई दिगो र व्यवस्थित बनाउन भक्तपुर नगरपालिकाले आवश्यक पहल गरिरहेको बताउनुभयो।

पर्यटकबाट होटल व्यवसायीदेखि स्थानीय जनतासम्म आर्थिक लाभ पुग्ने वातावरण निर्माण गर्न नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै प्रमुख प्रजापतिले पर्यटन शुल्कबाट प्राप्त रकम शिक्षा, स्वास्थ्य तथा विकास निर्माणका क्षेत्रमा लगानी गरी नगरवासीलाई प्रत्यक्ष लाभ पुर्‍याउने काम भइरहेको बताउनुभयो।

विदेशी पर्यटकको आगमनमा उतारचढाव भइरहने भएकाले नगरपालिकाले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत जोड दिँदै आएको उहाँले बताउनुभयो। यसका लागि संस्कृतिकर्मीलाई सम्मान, परम्परागत सांस्कृतिक बाजा प्रतियोगिता तथा विभिन्न तालिमलगायतका कार्यक्रम सञ्चालन भइरहेको उहाँले उल्लेख गर्नुभयो।

भक्तपुरलाई पर्यटकहरूले ‘विश्वकै जीवित संग्रहालय’ का रूपमा लिने गरेको उल्लेख गर्दै प्रमुख प्रजापतिले यहाँका मौलिक कला, संस्कृति, सम्पदा र जीवनशैलीको संरक्षण तथा प्रवद्र्धनलाई नगरपालिकाले प्राथमिकता दिँदै आएको बताउनुभयो।

भूकम्पपछिको पुनर्निर्माणका क्रममा भक्तपुर नगरपालिकाले १८५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसकेको जानकारी दिँदै उहाँले जनताको श्रमदान, आर्थिक तथा भौतिक सहयोगबाट सम्पदा पुनर्निर्माण गर्दा स्थानीयमा गौरवको भावना सिर्जना भएको बताउनुभयो।

सम्पदा संरक्षण तथा प्रवद्र्धनमा शैक्षिक संस्थाहरूलाई समेत जोडिएको बताउँदै उहाँले कलेज तथा विश्वविद्यालयका विद्यार्थीलाई अनुसन्धानमा सहभागी गराई आवश्यक सहयोग गर्दै आएको जानकारी दिनुभयो। सरसफाइलाई प्राथमिकता दिँदै भक्तपुरलाई सुरक्षित, सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ द्वारा परिकल्पना गरिएको ‘१०० वर्षपछिको भक्तपुर’ पुस्तकको अवधारणालाई उल्लेख गर्दै प्रमुख प्रजापतिले भक्तपुरको मौलिक पहिचान कायम राख्दै यसलाई विश्वकै हेर्नलायक सहरका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रमकी सभापति तथा टुर गाइड एसोसिएसन अफ नेपालकी अध्यक्ष प्रभालक्ष्मी प्रधानांगले पर्यटक पथप्रदर्शकसँग भक्तपुरका सम्पदाबारे सत्यतथ्य र प्रामाणिक जानकारी हुनु आवश्यक रहेको बताउनुभयो।

पर्यटकलाई सम्पदाबारे सही जानकारी प्रदान गर्नुका साथै भक्तपुरको इतिहास, कला, संस्कृति र जीवनशैलीबारे थप ज्ञान हासिल गराउन विज्ञहरूबाट पुनर्ताजगी तालिम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो। तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइएको उहाँले बताउनुभयो।

यसैगरी, पर्यटक पथप्रदर्शक कमल त्रिपाठीले पर्यटकलाई घुमाउने क्रममा गाइडहरूले विभिन्न चुनौती तथा जोखिम सामना गर्नुपर्ने बताउनुभयो। भक्तपुरका सम्पदा अवलोकन गराउँदा ऐतिहासिक गल्ली, मौलिक जीवनशैली र सांस्कृतिक पक्षबारे समेत पर्यटकलाई जानकारी दिने व्यवस्था हुनुपर्ने उहाँको सुझाव छ।

पर्यटकको सहजताका लागि भक्तपुरका सम्पदाहरूलाई जोड्ने हेरिटेज रुट निर्माण गर्नुपर्ने, आकस्मिक स्वास्थ्य समस्याका लागि मेडिकल पोस्टको व्यवस्था गर्नुपर्ने तथा नगरभित्र घुम्न कठिनाइ हुने अशक्त पर्यटकका लागि यातायात सुविधा उपलब्ध गराउनुपर्ने उहाँले सुझाव दिनुभयो।

त्यस्तै, पर्यटकलाई अनावश्यक मानसिक तनाव दिने हकर्सहरूको गतिविधि नियन्त्रण गरी स्वस्थ तथा मर्यादित व्यापारिक वातावरण निर्माण गर्नुपर्ने र अवैध रूपमा गाइडको काम गर्नेहरूलाई प्रोत्साहन गर्न नहुने धारणा त्रिपाठीले राख्नुभयो। टुर्गानका महासचिव सुबिन सितिखुका अनुसार भक्तपुरका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाबारे पर्यटक पथप्रदर्शकहरूलाई थप तथ्यपरक ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।भक्तपुरको सम्पदा, संस्कृति र मौलिक जीवनशैलीलाई पर्यटकसम्म सही र प्रामाणिक रूपमा पुर्‍याउन सक्षम पथप्रदर्शक तयार गर्ने उद्देश्यले आयोजित पुनर्ताजगी तालिमले भक्तपुरको पर्यटनलाई थप व्यवस्थित र ज्ञानमूलक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 



nationalnews7 nationalnews7   
  • October 2, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP