Dark Mode

      Subscribe

रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने

26
SHARES
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने

चितवन ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूले विद्युतीय उपकरणमार्फत उम्मेदवारको नाम तथा तस्वीरमा स्पर्श गरेर मत हाल्न सक्नेछन्। निर्वाचन आयोगले पहिलो चरणको मतदान सम्पन्न गर्न करिब ६ घण्टा लाग्ने अनुमान गरेको छ। यस चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ।

केसीका अनुसार पहिलो चरणबाट निर्वाचित सदस्यहरूले दोस्रो चरणमा उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदका लागि मतदान गर्नेछन्। उनले असार ८ गते दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरी सोही दिन साँझ पहिलो चरणको मतदान गराउने तयारी रहेको जानकारी दिए। पहिलो चरणको निर्वाचन असार ८ गते रातिसम्म सम्पन्न भएपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान असार ९ गते गरिनेछ।

महाधिवेशनमा करिब तीन हजार प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ। विदेशमा रहेका र कार्यक्रममा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूका लागि रास्वपाले आफ्नै मोबाइल एपमार्फत मतदानको व्यवस्था मिलाउँदैछ। विदेशस्थित १७० प्रतिनिधिमध्ये उपस्थित हुन नसक्नेहरूले उक्त एप प्रयोग गरी मतदान गर्न सक्नेछन्।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुखसहित १० सदस्य रहेका छन्। निर्वाचन आयोगका पदाधिकारीहरूले उम्मेदवारी दिन नपाए पनि मतदान गर्न पाउने व्यवस्था रहेको छ। यद्यपि प्रमुख केसीले आफूहरूले मतदान नगरी निष्पक्ष र तटस्थ रूपमा निर्वाचन सम्पन्न गराउने बताए।



nationalnews7 nationalnews7   
  • June 20, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP