Dark Mode

      Subscribe

‘सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक’

715
SHARES
‘सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक’

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल गरिएको छ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको मंगलबार बसेको दोस्रो बैठकमा सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले मनसुन अवधिभर भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो, डुबानसमेतलाई दृष्टिगत गरी सम्भावित जोखिम रहेका क्षेत्र, नदी, खोला नाला र पानीको बहाव समेत उच्च हुनसक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सडक सञ्जालहरू समेतमा मौसम पूर्वानुमान र परिस्थिति समेतको विचार गरी सवारी साधनमा रोक लगाउन पहल गरिने बताए ।

‘गत जेठ २८ गते बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठकको निर्णय कार्यान्वयन अवस्थाबारे छलफल तथा समिक्षा भएको र समिक्षाबाट मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ को कार्यान्वयनका लागि सबै निकायको एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘सबै निकायले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ को प्रभावकारी कार्यान्वयन गरी सोको प्रगति मासिक रूपमा प्राधिकरणमा पठाउने निर्णय भएको छ ।’

सडक÷राजमार्गमा बाढी, पहिरो, डुबान आदिका कारणले जुनसुकै बेला जुनसुकै स्थानमा अबरोध आउन सक्ने हुँदा सडक राजमार्ग तत्काल सञ्चालन गर्न आवश्यक पर्ने उपकरण २४सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था गर्न सडक विभाग र ७५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको कार्यकारी प्रमुख भट्टले जानकारी दिए ।

उनका अनुसार यसैगरी तत्काल उद्धार र राहतमा प्रयोग हुने न्यूनतम सामग्रीहरू समेत तयारी अवस्थामा राख्न र विशेष अवस्थामा सडक अवरूद्ध भई सवारी साधनहरू चल्न नसक्ने परिस्थितिमा कम्तिमा १५ दिनका लागि खाद्यान्न अभाव नहुने गरी व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको छ । -रासस



nationalnews7 nationalnews7   
  • June 23, 2025
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP