Dark Mode

      Subscribe

पठाओका सञ्चालक बस्न्यात पनि चुनावी मैदानमा, काठमाडौं १ बाट लड्ने घोषणा

26
SHARES
पठाओका सञ्चालक बस्न्यात पनि चुनावी मैदानमा, काठमाडौं १ बाट लड्ने घोषणा

काठमाडौं — राइड सेयरिङ एप पठाओका सञ्चालक असिममान सिंह बस्न्यातले काठमाडौं क्षेत्र नम्बर १ बाट आगामी चुनाव लड्ने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले उक्त क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका हुन्।

बस्न्यातले उद्यमशीलता र स्टार्टअप प्रवर्द्धन गर्ने नीति निर्माण तथा युवा पुस्ताले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण सिर्जना गर्नु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्। यद्यपि, उनले कुन राजनीतिक दलबाट उम्मेदवार बन्ने भन्नेबारे खुलासा गरेका छैनन्।

यसैबीच, बस्न्यातको राजनीतिक घोषणासँगै उनका अघिल्ला गतिविधिबारे पुनः प्रश्न उठेका छन्। उनी जेन–जी आन्दोलन भड्काउने तथा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी गर्न उक्साएको आरोप लागेका व्यक्ति हुन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका भिडिओहरूमा उनले आन्दोलनलाई समर्थन मात्र होइन, आगजनी र लुटपाटका घटनालाई ‘ग्लोरिफाइ’ गरेको देखिएको आरोप छ।

आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले प्रमाणका आधारमा पक्राउ गर्दा ठूलो संख्यामा पठाओ चालकहरू भेटिएका थिए। अनुसन्धानका क्रममा उनीहरूलाई नेताहरूको घरमा आगजनी र लुटपाट गर्न लोकेशन दिएर पठाइएको तथ्य खुलेको प्रहरीले जनाएको थियो। यस पृष्ठभूमिमा बस्न्यातको भूमिकामाथि शंका उठ्दै उनलाई अनुसन्धानको दायरामा ल्याउने प्रयास भए पनि जेन–जी आन्दोलनका अगुवाहरूको दबाबमा प्रक्रिया रोकिएको बताइन्छ।

प्रहरीका अनुसार बस्न्यात स्वयं जेन–जी आन्दोलनका आह्वानकर्ता थिए। उनले आन्दोलन आह्वान गर्नुका साथै आगजनी र लुटपाटपछि नेताहरू भागेको दाबी गर्दै भिडिओहरू सार्वजनिक गरेका थिए। उनी प्रधानमन्त्री सुशीला कार्कीको सपथग्रहण समारोहमा सहभागी भएको र आफूलाई मन्त्रीका रूपमा प्रचार गरेको आरोप पनि लाग्दै आएको छ।

आगजनी तथा प्रहरीका हतियार लुटपाटका घटनामा पठाओ राइडरहरूको संलग्नता देखिएपछि बस्न्यातमाथि थप प्रश्न उठेका हुन्। यद्यपि, पठाओ कम्पनीले संस्थागत रूपमा राइडरहरूलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेको छ। तर, केही पठाओ राइडरहरूको डेराबाट लुटिएका प्रहरीका हतियार बरामद भएको प्रहरीले जनाएको छ।

उद्योगमन्त्री बन्ने दाबीसमेत गरेका बस्न्यातविरुद्ध आपराधिक उपद्रव र विध्वंसमा संलग्न रहेको आरोपमा काठमाडौं र कैलालीमा जाहेरी दर्ता गरिएको छ। तर, सुधन गुरुङ र निश्चल बस्नेतसहितको जाहेरी भने औपचारिक रूपमा दर्ता नभएको जनाइएको छ।



nationalnews7 nationalnews7   
  • January 11, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP