Dark Mode

      Subscribe

विश्वका अर्बपतिहरू अझ धनी, करोडौँ अझ गरिब

195
SHARES
विश्वका अर्बपतिहरू अझ धनी, करोडौँ अझ गरिब

काठमाडौँ । डाभोसमा विश्व आर्थिक मञ्च सुरु भएसँगै अक्सफामले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले विश्वभर तीव्र रूपमा बढ्दो आर्थिक असमानताको गम्भीर अवस्था उजागर गरेको छ। ‘रेजिस्टिङ द रुल अफ द रिच’ शीर्षकको प्रतिवेदनले सन् २०२५ मा अर्बपतिहरूको सम्पत्ति इतिहासकै उच्च तहमा पुगेको देखाएको छ।

प्रतिवेदनअनुसार सन् २०२५ मा अर्बपतिहरूको सम्पत्ति १६ प्रतिशतभन्दा बढीले वृद्धि भई १८.३ ट्रिलियन अमेरिकी डलर पुगेको छ। सन् २०२० यता मात्रै उनीहरूको सम्पत्ति ८१ प्रतिशतले बढेको छ, जुन पछिल्ला पाँच वर्षको औसत वृद्धिदरभन्दा तीन गुणा तीव्र हो। गत वर्ष मात्र अर्बपतिहरूको सामूहिक सम्पत्ति २.५ ट्रिलियन डलरले बढेको छ, जुन विश्वका ४ अर्ब १० करोड गरिब मानिससँग भएको कुल सम्पत्तिसरह रहेको प्रतिवेदनमा उल्लेख छ। विश्वमा पहिलो पटक अर्बपतिहरूको संख्या ३ हजार नाघेको छ भने एलन मस्क आधा ट्रिलियन डलर सम्पत्ति हुने पहिलो व्यक्ति बनेका छन्। अर्बपतिहरूको हालको सम्पत्तिले विश्वको चरम गरिबी २६ पटकसम्म अन्त्य गर्न सकिने क्षमता रहेको अक्सफामको ठहर छ।

विश्वस्तरमा सम्पत्ति सीमित व्यक्तिहरूमा केन्द्रित हुँदै जाँदा नेपालको अवस्था पनि चिन्ताजनक देखिएको छ। नेपालमा सबैभन्दा धनी १ प्रतिशत व्यक्तिसँग रहेको सम्पत्ति सबैभन्दा गरिब ५० प्रतिशत जनसङ्ख्याको तुलनामा ५१९ गुणा बढी छ। तथ्याङ्कअनुसार देशको कुल सम्पत्तिमध्ये गरिब ५० प्रतिशत जनसङ्ख्याको हिस्सा केवल ४.७ प्रतिशत रहेको छ भने धनी १ प्रतिशतले २४.५ प्रतिशत सम्पत्ति ओगटेका छन्। आयमा पनि ठूलो लैङ्गिक विभेद देखिएको छ, जहाँ महिलाको श्रम आम्दानी पुरुषको तुलनामा केवल २८ प्रतिशतमा सीमित छ।

सम्पत्तिको असमान वितरणले नेपालमा खाद्य असुरक्षालाई थप जटिल बनाएको प्रतिवेदनले जनाएको छ। सन् २०१९ देखि २०२३ को अवधिमा गम्भीर वा मध्यम खाद्य असुरक्षामा परेका नेपालीको संख्या ५ लाखले बढेको छ। हाल करिब ३६.६ प्रतिशत अर्थात् १ करोड ९ लाख नेपाली खाद्य असुरक्षाबाट प्रभावित छन्। विश्वव्यापी रूपमा पनि प्रत्येक चार जनामध्ये एक जनाले नियमित रूपमा पर्याप्त खाना पाउन नसकिरहेको अवस्था रहेको छ।

अक्सफामले अति–धनी वर्गले राजनीतिक शक्ति आफ्नो नियन्त्रणमा लिएर अर्थतन्त्र र समाजका नियमहरू आफू अनुकूल बनाइरहेको आरोप लगाएको छ। प्रतिवेदनअनुसार साधारण नागरिकको तुलनामा अर्बपतिहरू राजनीतिक पदमा पुग्ने सम्भावना ४ हजार गुणा बढी छ। अमेरिकामा ट्रम्प प्रशासनले अर्बपति–पक्षीय नीति अघि बढाएको र यसले विश्वभर कुलीनतन्त्रलाई प्रोत्साहन गरेको अक्सफामको निष्कर्ष छ। अक्सफामका कार्यकारी निर्देशक अमिताभ बेहारका अनुसार धनी वर्गले चुनावलाई प्रभाव पार्ने र आफ्ना स्वार्थ सुरक्षित गर्न लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाइरहेका छन्।

सञ्चार माध्यम र प्रविधि क्षेत्रमा पनि अर्बपतिहरूकै वर्चस्व बढ्दो छ। एलन मस्कको एक्स (पूर्व ट्विटर), जेफ बेजोसको वासिङ्टन पोस्टलगायत विश्वका आधाभन्दा बढी ठूला मिडिया तथा सामाजिक सञ्जाल कम्पनीहरू अर्बपतिहरूको स्वामित्वमा रहेको प्रतिवेदनले देखाएको छ। यसका कारण अभिव्यक्ति स्वतन्त्रता खुम्चिँदै गएको र घृणास्पद अभिव्यक्ति बढेको अक्सफामको ठहर छ। गत वर्ष मात्र विश्वका एक चौथाइ देशले अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाएका छन्।

धनी र गरिबबीचको बढ्दो खाडलले राजनीतिक अस्थिरता बढाएको र नागरिक अधिकारहरू संकुचित हुँदै गएको निष्कर्ष निकाल्दै अक्सफामले समाधानका उपाय सुझाएको छ। सरकारहरूले अति धनीहरूको सम्पत्ति र आयमा उच्च कर लगाउनुपर्ने, राजनीतिमा पैसाको प्रभाव नियन्त्रण गर्नुपर्ने तथा श्रमिक र नागरिकको अधिकार सुनिश्चित गर्नुपर्ने अक्सफामको सिफारिस छ।



nationalnews7 nationalnews7   
  • January 20, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP