Dark Mode

      Subscribe

ओलीको स्टाटस र बालेनको कमेन्टमा सबैको चासो, चुनाबका लागि कस्को पल्ला भारी ?

234
SHARES
ओलीको स्टाटस र बालेनको कमेन्टमा सबैको चासो, चुनाबका लागि कस्को पल्ला भारी ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक (पब्लिक) डिबेटका लागि आफू तयार रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसमार्फत अध्यक्ष ओलीले देशको नेतृत्व गर्न खोजिरहेका दलहरूबीच पारदर्शी र प्रत्यक्ष बहस आवश्यक रहेको उल्लेख गरेका हुन्। उनले नयाँ तथा पुराना सबै राजनीतिक दल चुनावमा होमिएको अवस्थामा देश बनाउने र देश जलाउने पक्षबीच प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेका छन्। यस्तो प्रतिस्पर्धामा नेकपा (एमाले) देश बनाउने पक्षबाट मैदानमा रहेको उनको दाबी छ।

अध्यक्ष ओलीले पछिल्लो समय सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच प्रत्यक्ष र पारदर्शी बहसको माग उठिरहेको सुनिएको उल्लेख गर्दै सामाजिक सञ्जालमा फ्रेमिङ गरेर प्रचार सामग्री ल्याई मतदातालाई भ्रममा पार्ने प्रवृत्तिका कारण पनि यस्तो माग आएको हुन सक्ने बताएका छन्।

यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि यसअघिको चुनावमा खुलेका र हालै खुलेका नयाँ दलहरूसमेत प्रधानमन्त्रीको उम्मेदवार तोकेर मैदानमा आएको उल्लेख गर्दै उनले देशको नेतृत्व गर्न खोज्ने दलहरूको एजेन्डा, विगतमा गरेका काम र भविष्यका योजना सार्वजनिक रूपमा बहस हुनुपर्ने धारणा राखेका छन्।“देश निर्माणमा यसअघि के काम गरियो, अब के गर्ने भन्ने रोडम्याप, योजना र खाका के हुन् भन्ने विषयमा आमने–सामने बहस हुनु अत्यन्त सकारात्मक हुन्छ,” उनले स्टाटसमा लेखेका छन्।

अध्यक्ष ओलीले यस्तो पब्लिक डिबेटमा उभिएर आफूले विगतमा गरेका कामका तथ्य र आगामी कार्यदिशाका एजेन्डा प्रस्तुत गर्न तयार रहेको स्पष्ट पारेका छन्। साथै, चुनावपछि प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत भएका सबै नेताहरूसँग सिधा प्रश्न–उत्तर हुने मञ्चमा उभिएर आफ्ना एजेन्डा राख्ने प्रतिबद्धता समेत जनाएका छन्। उनले अन्त्यमा सबै पक्षलाई सहभागी गराई सार्वजनिक डिबेट आयोजना गर्न आग्रह गरेका छन्।

ओलीको स्टाटस जस्ताको तस्तै:

“पब्लिक डिबेटको लागि तयार छौँ
नयाँ / पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।
फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।”

-बालेन के भन्छन् ?

काठमाडौं महानगरपालिकाका पूर्व मेयर एवम् झापा ५ का उम्मेद्वार बालेन शाहले ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट फागुन २१ गतेको चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारिएका शाहले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको भनाइमाथि कडा प्रतिक्रिया जनाउँदै पब्लिक डिबेटमा सहभागी नहुने बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफूलाई देश जलाउने र आतङ्कवादीको रूपमा चित्रित गरिएको आरोपप्रति कडा प्रतिक्रिया जनाउँदै उनले ओली तयार भएको भनिएको पब्लिक डिबेटमा नबस्ने बताएका हुन् ।

बालेनले भदौ २३ गते बालबालिकाको हत्या र २४ गते भएको आगजनी घटनाको जिम्मेवारी आफूहरूमाथि थोपरिएको भन्दै आपत्ति जनाउँदै ओलीको पब्लिक डिबेटको प्रस्ताव प्रति कडा प्रतिक्रिया जनाएका हुन् । शाहले आफू बालबालिकाको हत्या र त्यसका मतियारसँग एउटै मञ्चमा नउभिने बताएका हुन्।

बालेनले भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने छ ।’



nationalnews7 nationalnews7   
  • January 25, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP