Dark Mode

      Subscribe

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा

26
SHARES
नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट) को बैठक आगामी अगस्टमा आयोजना हुने जानकारी दिनुभएको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र साहका तर्फबाट स्पष्टीकरण दिँदै उहाँले सो जानकारी दिनुभएको हो । मन्त्री खनालले नेपाल र भारतबीचको समन्वय, सहकार्य तथा साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रहरूलाई पुनः सक्रिय बनाइएको बताउनुभयो ।

ती संयन्त्रहरूको नियमित बैठकले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा साझा सम्भावना र सहकार्यका विषयमा छलफल गर्न महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री खनालको विश्वास छ । उहाँले नेपाल–भारत सीमा क्षेत्रमा हराएका सीमा स्तम्भहरूको मर्मत, पुनःस्थापना तथा पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको जानकारी पनि दिनुभयो । हाल संयुक्त फिल्ड सर्भे टोलीले विभिन्न स्थानमा स्थलगत काम गरिरहेको र यसका लागि चारवटा छुट्टाछुट्टै टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।

बैठकमा परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “दुई देशबीचको समन्वय, सहकार्य र साझेदारीलाई अझ बलियो बनाउन दर्जनौँ संयन्त्र रहेका छन् । यसमध्ये केही संयन्त्र पछिल्लो समय क्रियाशील नरहेको पनि देखिएकाले तिनलाई सुचारु गरिएको छ । संयुक्त कार्य समूहको बैठक आगामी अगस्टमा आयोजना हुँदै छ ।” उहाँले यस संयन्त्रलाई दिइएको जिम्मेवारीबमोजिम हराएका सीमा स्तम्भ मर्मत, पुनःस्थापना र पुनर्निर्माण गर्ने कार्यहरू अगाडि बढेको स्पष्ट पार्नुभयो ।

परराष्ट्रमन्त्री खनालले सीमा क्षेत्रमा देखा परेका ‘क्रस बोर्डर अकुपेसन’ (सीमापार उपयोग) सहितका प्राविधिक विषयहरूलाई समाधान गर्न नेपाल र भारत दुवैतर्फका संयन्त्रले संवेदनशीलताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो ।

 



nationalnews7 nationalnews7   
  • June 10, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP