Dark Mode

      Subscribe

टुरिस्ट गाइडका प्रिय ‘उत्तमप्रसाद देवकोटा’ द्वारा टुर्गानको अध्यक्ष पदमा उम्मेद्वारी, के छन् व्यावसायिक सुधारका एजेन्डा ?

247
SHARES
टुरिस्ट गाइडका प्रिय ‘उत्तमप्रसाद देवकोटा’ द्वारा टुर्गानको अध्यक्ष पदमा उम्मेद्वारी, के छन् व्यावसायिक सुधारका एजेन्डा ?

काठमाडौं। टुरिष्ट गाइड एशोसिएसन अफ नेपाल (टुर्गान) को आगामी कार्यसमितिको अध्यक्ष पदका लागि उत्तम प्रसाद देवकोटाले उम्मेदवारी घोषणा गर्नु भएको छ । यही असार २७ गते शनिबार हुन लागेको ३३ औं वार्षिेक साधारण सभाको अवसरमा हुने नयाँ नेतृत्वको निर्वाचनका क्रममा उहाँले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । देवकोटाले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै  ‘पर्यटनका लागि गाइड, गाइडका लागि प्रतिबद्ध नेतृत्व’ भन्ने मूल नारासहित चुनावी अभियानलाई तीव्रता दिनुभएको छ।

उहाँ टुर्गानका निवर्तमान उपाध्यक्ष देवकोटा हाल त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि (PHD) शोधार्थी हुनुहुन्छ। शैक्षिक योग्यता र व्यावसायिक अनुभवको संयोजनले उहाँलाई नीति निर्माण, अनुसन्धान तथा संस्थागत विकासमा सक्षम नेतृत्वका रूपमा स्थापित गरेको छ। यस अवधिमा संस्थाको क्षमता अभिवृद्धि, सदस्यहरूको पेशागत विकास तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो।

देवकोटाले पर्यटन क्षेत्रका विभिन्न प्रतिष्ठित संस्थाहरूमा समेत नेतृत्वदायी जिम्मेवारी सम्हालि सक्नु भएको छ। उहाँले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATA)  का पूर्व प्रमुख कार्यकारी अधिकृत  (CEO), नेपाल हस्तकला महासंघका निवर्तमान महानिर्देशक तथा क्यानभास कलेज का पूर्व क्याम्पस प्रमुखका रूपमा कार्य गरिसक्नु भएको छ। यी जिम्मेवारीहरूले उहाँको व्यवस्थापकीय क्षमता, समन्वय कौशल र परिणाममुखी नेतृत्वलाई थप सुदृढ बनाएको बताइन्छ।

के हुन् देवकोटाले सार्वजनिक गरेका व्यावसायिक सुधारका एजेन्डा ?

अध्यक्ष पदमा उम्मेदवारीसँगै देवकोटाले टुरिस्ट गाइडहरूको व्यावसायिक क्षमता अभिवृद्धि र संस्थागत सुधारमा केन्द्रित एजेन्डा सार्वजनिक गर्नु भएको छ । यसैगरी गाइडहरूको व्यावसायिकता विकास, बीमा सुविधा सुनिश्चित गर्ने, सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता गराउने र स्वचालित पारिश्रमिक निर्धारणको व्यवस्था लागू गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यस्तै नयाँ गाइडका लागि स्रोत केन्द्र स्थापना गरी पेसालाई सुरक्षित, मर्यादित र सम्मानजनक बनाउने योजना पनि उहाँले अघि सार्नु भएको छ ।

यसैगरी उहाँले सार्वजनिक गर्नु भएको अन्य एजेन्डामा संस्थाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, विभिन्न निकायसँग सहकार्य र सञ्जाल निर्माण, साथै गाइडहरूको कार्यअनुभव, क्षमता र शैक्षिक योग्यताका आधारमा वर्गीकरण गर्ने व्यवस्था लागू गर्ने विषय पनि समेटिएका छन् ।

टुर्गानको अध्यक्ष पदमा किन देवकोटालाई नैं भोट दिने ?

-पर्यटन क्षेत्रको लामो व्यावसायिक अनुभव र संस्थागत नेतृत्व।
-टुरगानको निवर्तमान उपाध्यक्षका रूपमा संस्थाको कार्यप्रणालीबारे गहिरो ज्ञान।
-उच्च शैक्षिक योग्यता तथा अनुसन्धानमा सक्रिय संलग्नता।
-राष्ट्रिय स्तरका प्रतिष्ठित संस्थाहरूमा सफल नेतृत्वको अनुभव।
-टुरिस्ट गाइडहरूको पेशागत अधिकार, क्षमता विकास र सामाजिक सुरक्षाका विषयमा स्पष्ट प्रतिबद्धता।
-सरकार, निजी क्षेत्र र पर्यटनसम्बद्ध निकायसँग प्रभावकारी समन्वय गर्न सक्ने क्षमता।
-संगठनलाई पारदर्शी, उत्तरदायी, समावेशी र व्यावसायिक रूपमा अगाडि बढाउने स्पष्ट दृष्टिकोण।
-नेपाल भ्रमण गर्ने पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न गाइडहरूको दक्षता अभिवृद्धि गर्ने योजना।
-नयाँ पुस्ताका गाइडहरूलाई तालिम, अवसर र प्रविधिमैत्री वातावरण उपलब्ध गराउने प्रतिबद्धता।

देवकोटाले आफ्नो नेतृत्वमा टुरगानलाई अझ सशक्त, व्यवस्थित र सदस्यमुखी संस्था बनाउने, टुरिस्ट गाइडहरूको पेशागत सम्मान र सुरक्षालाई प्राथमिकतामा राख्ने तथा नेपालको पर्यटन उद्योगको समृद्धिमा गाइडहरूको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

टुर्गानको ३३औं साधारण सभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन असार २७ गते काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रज्ञा भवन) मा हुने तय भएको हो । संस्थाको सदस्य बन्न स्नातक तह उत्तीर्ण गरी तीन महिनाको पर्यटक पथप्रदर्शक (टुरिस्ट गाइड) तालिम पूरा गरेको हुनुपर्ने व्यवस्था छ ।

टुर्गान नेपालमा आधिकारिक रूपमा दर्ता भएका पर्यटक पथप्रदर्शकहरूको छाता संगठन हो। यसले गाइडहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि र पर्यटन प्रवर्द्धनमा काम गर्दछ।



nationalnews7 nationalnews7   
  • July 10, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP