Dark Mode

      Subscribe

चिसोमा पनि पर्यटकको आकर्षणमा ढोरपाटन, घटेन चहलपहल

390
SHARES
चिसोमा पनि पर्यटकको आकर्षणमा ढोरपाटन, घटेन चहलपहल

ढोरपाटन– अत्यधिक चिसो बढे पनि ढोरपाटनमा पर्यटकको चहलपहल घटेको छैन। बिहानपख धारामा पानी जम्ने र बाक्लो तुसारोले हिँडडुलमा कठिनाइ भए पनि यस वर्ष हिउँद याममा पनि पर्यटक आउन थालेका छन्। चिसो बढेसँगै स्थानीय बासिन्दा बेँसी झरेका छन् भने अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायी मात्र ढोरपाटनमा छन्। पाँच वर्षअघिसम्म हिउँदमा ढोरपाटन प्रायः सुनसान हुन्थ्यो। तर यस वर्ष भने जाडो मौसममै पनि पर्यटकको आगमन बढेको छ।

बाह्रै महिना प्राकृतिक सुन्दरतामा कमी नआउने भएकाले ढोरपाटन पर्यटकको रोजाइमा पर्दै गएको छ। विगतमा मङ्सिरको अन्तिम सातासम्म मात्रै पर्यटक देखिने र चैतसम्म क्षेत्र सुनसान हुने गरेकामा यस वर्ष चिसो याममै पनि चहलपहल देखिन थालेको हो। यसले होटल व्यवसायीलाई उत्साहित बनाएको छ। ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैका अनुसार अघिल्ला वर्षहरूमा करिब चार महिना होटल बन्द गर्नुपर्थ्यो। तर यस वर्ष एक दिन पनि होटल खाली बस्न नपरेको उनले बताए। पछिल्ला पाँच वर्षमा पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको र हिउँद याममा समेत पर्यटक आउने यो पहिलोपटक भएको उनको भनाइ छ।

उनका अनुसार शुक्रबार र शनिबार करिब दुई सय तथा अन्य दिन ३० देखि ५० जनासम्म पर्यटक ढोरपाटन आउने गरेका छन्। तीव्र प्रचारप्रसारका कारण बुटवल, पोखरा, काठमाडौँ, चितवन, भैरहवा लगायत देशभरबाट पर्यटक आउन थालेका छन्। “सडक विस्तारै सुधारिँदैछ, अब आगामी वर्षदेखि ढोरपाटनमा बाह्रै महिना पर्यटक आउने अपेक्षा छ,” अध्यक्ष अदैले भने। एक दशकअघि ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या न्यून थियो। तर प्रचारप्रसारसँगै अहिले बर्खा याममा हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। ढोरपाटन उपत्यकासँगै बुकीपाटन र जलजला क्षेत्र घुम्नेको सङ्ख्या पनि उल्लेख्य छ।

होटल व्यवसायी धीरेन्द्र घर्तीमगरका अनुसार खान र बस्नका लागि सुविधा विस्तार भएपछि जाडो याममा पनि पर्यटक आउन थालेका हुन्। टाढाबाट आउने पर्यटकले अग्रिम रूपमा कोठा बुकिङ गर्ने गरेको उनले बताए। नवलपुरबाट घुम्न आएका आशिष पुरीले अत्यधिक चिसो भए पनि ढोरपाटनको सुन्दरताले आकर्षित गरेको बताए। जाडो बिदामा नौ जनाको समूहसहित आएका उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा देखिएका तस्बिर तथा भिडियोले घुम्न प्रेरित गरेको सुनाए। जाडो याममा न्यानो कपडासहित आउन उनले सुझाव दिए।

चिसोका कारण स्थानीय बासिन्दा बोबाङ, अधिकारीचौर र निसीखोला झरेका छन्। उनीहरू चैत लागेपछि मात्रै ढोरपाटन फर्किने गर्छन्। विगतमा पर्यटक कम हुँदा व्यवसायी फुर्सदिला हुने गरे पनि अहिले त्यस्तो अवस्था छैन। पाँच वर्षअघि ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीयको सङ्ख्या कम थियो। अहिले भने ढोरपाटन उपत्यकामा मात्र करिब ४० वटा होटल सञ्चालनमा छन्।



nationalnews7 nationalnews7   
  • January 16, 2026
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP